कर्णाली प्रतिष्ठानमा बिरामी मृत्यु घटना : पीडितले बुझेनन् शव, छानबिन समिति गठन

डिकेशनाथ योगीको मृत्युपछि परिवारले चिकित्सकलाई कारबाहीको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।

भाद्र २, २०८२

डीबी बुढा

Death of a patient in Karnali Institute: The victim did not recognize the body, an inquiry committee was formed

What you should know

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बिरामीको मृत्यु घटनामा छानबिन गर्न जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यको नेतृत्वमा सात सदस्यीय समिति बनेको छ । 

जिल्ला प्रशासन कार्यालयमा बसेको मृतक परिवार,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरोकारवालाबीचको बैठकले छानबिन समिति गठन गरेको थियो । समितिमा बद्रीनाथ योगी, डा. विनम्र विष्ट, पूर्णप्रसाद चौलागाई, रतननाथ योगी, विष्णुबहादुर महत छन् । सदस्य सचिवका रुपमा प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मीनबहादुर रावल तोकिएका छन् । समितिले ३ दिनभित्र सत्यतथ्य प्रतिबेदन उपलब्ध गराउनेछ । 

जुम्लाको हिमा गाउँपालिका-३ का १७ वर्षीय डिकेशनाथ योगीको उपचारका क्रममा शनिबार मृत्यु भएको थियो । उपचारमा संलग्न चिकित्सकमाथि छानबिन, पीडितलाई राहत र क्षतिपूर्ति मागसहित परिवार र आफन्त आन्दोलनमा छन् । सामान्य पेट दुखेको अवस्थामा शल्यक्रिया गरेर ज्यान गएको भन्दै उनीहरुले शव बुझ्न मानिरहेका छैनन् । 

शल्यक्रियामा संलग्न चिकित्सक निर्मल थापाले डिकेशको आन्द्रा उल्टो र कालो भइसकेकाले शल्यक्रिया  गर्नुपरेको प्रतिक्रिया दिएका छन् । 

गत जेठ २३ गते अकस्मात पेट दुखेपछि डिकेशलाई नजिकैको नराकोट बजारस्थित मेडिकल पुर्‍याइएको थियो । पेट दुख्न निको भएपछि उनी घर फर्किए ।

२४ गते दिउँसो फेरि दुख्न थालेपछि परिवारले अस्पताल पुर्‍याए । उपचार गरेर राति ११ बजे निको भएको भन्दै अस्पतालले डिस्चार्ज गर्‍यो । भोलिपल्ट बिहान ८ बजे पेट दुखेपछि पुन: उनलाई अस्पताल पुर्‍याइयो । परिवारका अनुसार अस्पतालले एक्सरे गर्न लगायो । र एपेन्डिसाइटिस भएको भन्दै  शल्यक्रियाका लागि सुझायो । 

जेठ २६ गते डिकेशको पहिलो शल्यक्रिया गरियो । तर पनि स्वास्थ्यमा कुनै सुधार आएन । बिरामी झनै रोइकराइ गर्न थालेको बुवा जगतनाथ बताउँछन् । चिकित्सकको सल्लाहबमोजिम डिकेशको पेटमा दोस्रोपटक एक्सरे गरियो । आन्द्रामा गाँठो परेको भन्दै चिकित्सकले दोस्रो शल्यक्रिया गर्न भने ।

'एउटै बिरामका लागि दुईपटक अप्रेसन गर्न भनेपछि हामी झस्कियौं,' जगतनाथले भने, 'छोरालाई काठमाडौं रेफर गर्न आग्रह गर्‍यौं तर चिकित्सकले दोस्रो अप्रेसन तत्काल नगरे ज्यान खतरामा पर्न सक्ने चेतावनी दिए ।' 

बाध्यताले फेरि दोस्रो शल्यक्रियाका लागि राजी भएको जगतनाथ बताउँछन् । शल्यक्रियापछि डिकेशलाई आईसीयूमा राखियो । 'त्यसपछि पो डाक्टरहरुले छोरालाई काठमाडौं लैजानुस्, यहाँ औषधि पाइँदैन भनेपछि हामी संकटमा पर्‍यौं,' उनले भने, 'रेफर कागजसमेत बनाइदिए ।' 

जहाजको टिकट नपाएपछि २८ गते मात्रै उनले बिरामी छोरालाई कोहलपुर मेडिकल कलेजमा पुर्‍याए । 'पहिलो अप्रेसन एपेन्डिसाइटिसको  भए पनि दोस्रो अप्रेसन गर्दाको कुनै रिपोर्ट भेटाएनन् । जहाँ अप्रेसन गरिएको हो, त्यही जानुस् भनेर पठाइदिए । बिरामी छोराको चित्कार सुन्दै जुम्ला अस्पताल नै फर्कियौं,' जगतनाथले भने । 

अस्पतालले भने प्रेस नोटमार्फत 'बिरामीका अभिभावकलाई शल्यक्रिया र रोगको जटिलताबारे जानकारी गराएपश्चात २६ गते शल्यक्रिया गरिएको' प्रस्ट पारेको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully