कर्णाली राजमार्गमा यात्रुलाई सधैं सास्ती, असारयता २१ पटक पहिरो 

राजमार्गको ठाउँठाउँमा गएको पहिरो सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले हटाए पनि सधैंजसो झरिरहने गगनेको पहिरोले समस्या निम्त्याउने गरेको छ ।

श्रावण ३१, २०८२

तुलाराम पाण्डे

Passengers always suffer on Karnali highway, landslides 21 times since last June

What you should know

कालीकोट — सुर्खेतबाट मुगु जान आएका खत्याड-२ सेरीका सर्जन मल्लको ५ जनाको परिवार गत शुक्रबार दिउँसो कर्णाली राजमार्ग हुँदै दैलेखको खिड्कीज्यूला पुगेपछि कालीकोटको गगने खोलामा पहिरो गएको सुने । उनीहरुको बास त्यतै भयो । 

भोलिपल्ट बिहान सडक खुल्छ होला भनेर उनीहरु चढेको माइक्रो बस खिड्कीज्यूलाबाट हिँड्यो । ८ बजे कालीकोटको गगने खोला पुग्यो । पानी परिरहेकोले पहिरो झर्न रोकिएन । बल्लतल्ल सडक डिभिजन कार्यालय जुम्लाका दुई वटा एक्स्काभेटरले वल्लो र पल्लो छेउबाट पहिरो सफा गरेर सकेपछि १ बजे बाटो खुल्यो । ४ किमि अगाडि आएपछि पुन: हुल्म नजिकैको पहिरोले ३ घण्टा गाडी रोकियो । मल्ल परिवारको बास शनिबार बेलुकी मान्ममै भयो । पानी ठूलो नभए पनि दलदले माटो र ढुंगा एक सय मिटर माथिबाट बगिरहने गगने पानीबिनाको खोला हो ।  

'जनैपूर्णिमाका दिन घरमा देउता पुज्न भनेर आयौ,' उनले भने, 'पुग्न नसकिने भयो ।' उनले सडक बनेपछि भरपर्दो नहुँदा कर्णालीवासीले दुःख पाएको गुनासो पोखे । 

गत आइतबार जुम्लाको सिन्जाबाट सुर्खेत हुँदै भारत हिँडेको थियो गोरबहादुर खत्रीसहित ९ जनाको टोली । प्रहरीले गगने खोलामा पहिरो गएको भन्दै हुल्ममै गाडी रोक्यो । वर्षा नरोकिएपछि त्यो दिन बाटो खुलेन । भोलिपल्ट बिहान ७ बजेदेखि पहिरो पन्छाउन सुरु गरेको मेसिनले १ बजे बाटो खोलेपछि उनीहरु सुर्खेततिर लागे । साउन अन्तिमदेखि भदौ महिना भारतको सिमलामा स्याउ टिप्ने काम पाइने भएकाले सिन्जाका युवाहरु भारत जान लागेका हुन् । 'एक महिनामै ५०-६० हजार कमाइ हुन्छ,' नरेश बुढाले सडकका कारण दुःख पाएको सुनाउँदै भने । उनीहरु घरबाट हिँडेको दिन जुम्लाको हिमा तलतिरको पहिरोले कालीकोट र जुम्लाको सिमाना नाग्मा बजार बास बसेर भोलिपल्ट कालीकोट पुगेका थिए । 

असार लागेपछि कर्णाली राजमार्गमा पहिरोले निकै दुःख दिएको नागरिक समाजका अगुवा दमनराज बम बताउँछन् । वर्षामा बादल र कुहिरो लाग्ने भएकाले जुम्ला, मुगु र हुम्लाका बासिन्दालाई हवाइजहाज पनि नउड्ने र पहिरोले सडक पनि बन्द हुने हुँदा आवतजावत गर्न कठिनाइ भएको उनले सुनाए ।

Passengers always suffer on Karnali highway, landslides 21 times since last June

सुर्खेतबाट दैलेख हुँदै कालीकोटको मान्मसम्मको दुरी जम्मा १ सय ५१ किमि छ । त्यसभन्दा माथि जुम्ला बजारसम्म ८२ गरी कुल २ सय ३२ किमि लम्बाइको कर्णाली राजमार्ग सडकको अवस्था राम्रो भए ८/९ घण्टामै पुगिने हो । तर, जीर्ण र साँघुरो सडकका कारण जेठसम्म एक दिनमा सजिलै पुगिए पनि असार लागेपछि ठाउँठाउँको पहिरोले साविकको कर्णालीका कालीकोट, जुम्ला, मुगु र हुम्ला पुग्ने नागरिकले सास्ती पाउने गरेका छन् । 'सानोतिनो पानी पर्नेबित्तिकै सडक अवरुद्ध भइहाल्छ,' कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले भने, 'असार लागेपछि प्रहरीलाई पहिरोको सूचना आदानप्रदान गर्न र सडक खुलाउनै ठिक्क छ ।' 

उनका अनुसार असारमा पहिरोले कर्णाली राजमार्गको गाल्जेमा १ पटक, लालु खुलालुमा १, हुल्ममा ५ पटक पहिरोले सडक अवरुद्ध भएको छ भने साउन लागेयता हुल्ममा ६ पटक, ताडीमा एक पटक, मोल्फा बिहानीमा ६ पटक र गाल्जे १ पटक गरी १४ पटक सडक अवरुद्ध भएको छ । 

त्यस्तै, असार र साउनमा गरी गगने खोलामा मात्र २१ पटक पहिरोले सडक अवरुद्ध भएको छ । अरु ठाउँमा त सामान्य नै हो । जिल्ला प्रहरी कार्यालययका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले भने, 'गगने खोलाले निकै दुःख दियो । पानी पर्नेबित्तिकै लेदोसहितको पहिरो झरिहाल्छ । पहिरो झर्ने र दुर्घटना बढी हुने भएकाले कर्णाली राजमार्गमा राति यात्रा गर्न प्रतिबन्ध छ ।'

सुर्खेतबाट कतै नरोकिएका गाडी पनि विगत प्रत्येक वर्ष वर्षा सुरु भएपछि कालीकोटको शुभकालिका-१ गगने खोलामा रोकिएर यात्रुलाई सास्ती हुने गरेको छ । बर्सेनि ठेक्का हुने गरे पनि गुणस्तरको काम नहुँदा पानी पर्नेबित्तिकै पहिरोले सडक अवरुद्ध हुने गरेको छ । 

०७८ को असोजमा भएको बेमौसमी वर्षाले ठाउँठाउँमा क्षतविक्षत गरेको कर्णाली राजमार्गको सुधारका लागि सरकारले कर्णाली राजमार्गको केही ठाउँमा चौडा गरे पनि गगने खोलोमा लगाएको ३ करोडको ठेक्काबाट लगाइएको ग्याबिन जालीसहितको पर्खाल गत वर्ष पहिरोले बगाएपछि सडकको अवस्था उस्तै छ । यहीँको पहिरो रोकथामका लागि सडक विभागले बेलाबेलामा विज्ञ ल्याएर स्थलगत अनुगमन गरेर रिपोर्ट बनाए पनि काम के भयो भन्ने यहाँका नागरिकलाई थाहा छैन । 

Passengers always suffer on Karnali highway, landslides 21 times since last June

घाम लागे धुलो पानी परे हिलो हुने कर्णाली राजमार्गको गगने खोलाको पहिरोले सधैं यात्रुलाई सास्ती दिने गरेको प्रजिअ नारायणप्रसाद भट्टराईले बताए । पहिरो रोकथामको लागि सडक डिभिजन कार्यालय जुम्लालाई बेलाबेलामा पत्राचार र टेलिफोनबाट खबर गरेको उनको भनाइ छ । कर्णाली राजमार्गको गगने खोला, जिते, बिहानीलगायतका ठाउँमा पहिरो झरिरहने समस्या रहेकाले सडक विभिजन कार्यालय जुम्लाले ३ वटा मेसिन कालीकोट खण्डमा मात्र तयारी अवस्थामा राखेको छ । 'दुई एक्स्काभेटर गगने खोलाको पहिरोलाई भनेर हुल्ममा राखेका छौं,' उनले भने, 'पहिरो गएपछि वर्षा रोकिनेबित्तिकै डोजर पठाइहाल्छौं ।' असार लागेपछि जितेको चट्टान खसेकाले ३ दिन अवरुद्ध भए पनि अरु बेला एक दिनभित्रै पहिरो हटाउन सफल भएको उनले दाबी गरे । 

कर्णाली राजमार्गको ठाउँठाउँमा गएको पहिरो सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले हटाए पनि सधैंजसो झरिरहने गगनेको पहिरोले यात्रुले सास्ती खेप्नुपरेको ट्राफिक प्रहरी कार्यालय मान्मले जनाएको छ । कर्णाली राजमार्गको पादुका, दैखोला, कालेखोला, हुल्म, सेरिघाट, सुनार खोला, ताडी, पिली, टिमुरे भीरमा सडक बिग्रिएकाले यात्रुलाई सास्ती हुने गरेको चालकको गुनासो छ । 'अरु ठाउँमा त अवरुद्ध भए पनि छिट्टै  खुल्छ,' ट्रक चालक कमल मिजारले भने, 'कालीकोटको गगने खोलाले निकै दुःख दिन्छ ।'

सडकको स्तरोन्नतिमा सडक विभागमार्फत सरकारले गत आर्थिक वर्ष मात्र सुर्खेत जुम्ला सडकमा ३२ करोड खर्च गरेको थियो भने स्थानीय तहहरुले वार्षिक ५/६ करोड बजेट सडकमै खर्च गरिरहेका छन् ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully