मुखिया छान्दै राउटे समुदाय

समुदायमा कसैको मृत्यु भए बसाइँ सर्ने राउटेहरू अहिले सुर्खेतकै लेकबेंसी नगरपालिका–१० झुप्रा खोलामा बसिरहेका छन् । कर्णालीका विभिन्न जिल्लामा बसाइँ सरिरहने राउटे समुदाय पछिल्ला वर्ष दैलेख र सुर्खेतका जंगलमा बस्दै आएको छ । गत वैशाखमा राउटेका मुखिया ४९ वर्षका सूर्यनारायण शाहीको बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको थियो ।

श्रावण ३०, २०८२

तृप्ति शाही

Routé community electing a chief

What you should know

वीरेन्द्रनगर — गत वैशाखमा ४९ वर्षका मुख्य मुखिया सूर्यनारायण शाहीको मृत्यु भए पछि फिरन्ते जीवन बिताउने लोपोन्मुख आदिवासी राउटे समुदायले नयाँ मुखिया छान्न प्रक्रिया थालेको छ । सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोलामा बसोबास गरिरहेका बेला मुखिया शाहीको मृत्यु भएको थियो ।

समुदायमा कसैको मृत्यु भए बसाइँ सर्ने राउटेहरू अहिले सुर्खेतकै लेकबेंसी नगरपालिका–१० झुप्रा खोलामा बसिरहेका छन् । कर्णालीका विभिन्न जिल्लामा बसाइँ सरिरहने राउटे समुदाय पछिल्ला वर्ष दैलेख र सुर्खेतका जंगलमा बस्दै आएको छ ।

आफ्नै भाषा, नियममा चल्ने यो समुदायमा एक जना मुखियाको रूपमा छानेका हुन्छन् । उनै मुखियाको नियन्त्रणमा उनीहरू हुन्छन् । मुखियाले काम लगाउने, कसरी समुदायलाई एकजुट बनाउने, झैझगडा मिलाउने, समुदायमा देखिएका समस्या समाधानको पहल गर्नेलगायतका काम गर्छन् । केही समययता राउटे समुदाय मुखिया छान्ने काममा लागेको छ । गत वैशाखमा राउटेका मुखिया ४९ वर्षका सूर्यनारायण शाहीको बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको थियो । अत्यधिक मदिराका कारण बिरामी परेका सूर्यनारायणले सुरुमा अस्पताल जान मानेनन् । अन्तिममा अर्को दिन जान्छु भनेका उनको राति मृत्यु भयो ।

तीन जना मुखिया रहेको राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण थिए । रास्कोटी शाही थरका उनलाई २८ वर्षको उमेरमा २१ वर्षअघि महामुखिया महिनबहादुर शाहीले मुखिया बनाएका थिए । आफूले एक्लै धान्न समस्या भएको भन्दै भाञ्जा नाता पर्ने उनलाई महिनबहादुरले मुखिया बनाएका थिए । महिनबहादुरले आधाउधी काम गर्न पनि आफ्नैलाई लगाउने गरेको सूर्यनारायणले बताउँथे । ्

२०८० कात्तिकमा महिनबहादुरको मृत्युपछि सूर्यनारायण मुख्य मुखियाको रूपमा अघि सरे । महिनबहादुर अघि उनका बुवा मानबहादुर शाही मुखिया थिए । अहिले राउटे समुदाय मुखिया छान्ने काममा अघि सरेको हो । उनीहरूले केही बैठक पनि सम्पन्न गरेका छन् । मुखिया छनौट गर्दा महिलाको मात्र एक पटक र पुरुषको मात्र एक पटक बैठक गर्ने चलन रहेको सोवंशीका राउटे मुखिया डिलबहादुर शाहीले जानकारी दिए । उनका अनुसार सूर्यनारायणको ठाउँमा उनका भाइ शेरबहादुर शाहीलाई बनाउने विषयमा छलफल भए पनि टुंगो लाग्न बाँकी छ । आउँदो दसैँमा छनौट टुंगिने तयारी भएको उनले बताए ।

राउटे परियोजना मार्फत बस्तीमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीले मुखिया छनौटको लागि समुदायले महिला र पुरुषको बैठक बसिसकेको जानकारी दिए । उनीहरूले २ वटा बैठक बसिसकेका छन् । उनले भने, ‘महिलाको बैठकमा महिला मात्र बोल्न पाउँछन् । पुरुषकोमा पुरुष मात्र । अब असोजमा महिला र पुरुषको संयुक्त बैठक गरेर मुखिया छान्ने सहमति भएको छ ।’

बैठकबाट शेरबहादुर शाहीलाई मुखियाको जिम्मेवारी प्रदान गर्ने मौखिक सहमति भए पनि अन्तिम निर्णय भने भइसकेको छैन । सूर्यनारायणकै भाइ शेरबहादुरलाई यो अवधिमा समुदायले परीक्षण गर्ने छ । सबैले उनलाई मुखिया मान्न तयार भए असोजमा बैठक बसेर उनलाई मुखिया बनाउने छन् । उनको गतिविधि चित्त नबुझेमा फेरि अर्को मुखिया छनौट गर्ने प्रक्रिया अघि बढ्नेछ । राउटे समुदायको मुखिया अहिलेसम्म पुरुष मात्र बनेका छन् । महिलालाई मुखिया नबनाए पनि निर्णय उनीहरूको पनि लिने गरेको जोडी शिक्षक खत्रीले बताए ।

Routé community electing a chief

‘पुरुषले मात्र हुन्छ भनेर हुँदैन । महिलाहरू पनि सहमत हुनुपर्छ । अनि मात्र मुखिया छान्ने चलन छ,’ उनले भने । समुदायमा २० वर्ष नाघेको र विवाहितलाई मुखिया बनाउने चलन छ । सकेसम्म बालबच्चा भएका परिपक्व पुरुषलाई मुखिया बनाइने गरेको डिलबहादुर बताउँछन् । उनका अनुसार मुखियाको कुरा मान्न सबै जना सहमत हुनपर्छ ।

मुखियाले भनेको सबैले मान्ने सहमति भएपछि केही समय उसलाई टेर्ने/नटेर्ने के छ भनेर विचार गर्नका लागि एकदेखि दुई महिनाको समय राखिन्छ । सबैले आदेश पालन गर्ने भएपछि अन्तिममा मुखिया छान्छन् । मुखियाले समुदायमा झैझगडा भएमा मिलाउने, समुदाय बाहिर गएर गर्नुपर्ने कामको जिम्मेवारी लिने, खाद्यान्न संकट परे बाहिर गएर सहयोग संकलन गर्ने, कसैले बोलाएको ठाउँमा जाने, बस्तीमा कोही आए भेटघाट गर्ने लगायतको जिम्मेवारी लिनुपर्ने हुन्छ ।

‘केही समय अघिसम्म बस्ती बाहिरका काममा मुखिया मात्र निस्किने गर्थे । अहिले युवाहरू बाहिर जान थालेका छन् । धेरैजसो कार्यक्रममा युवाहरू नै जान्छन्,’ खत्री भन्छन् । राउटे समुदाय अहिले कल्याल थरमा पनि नयाँ मुखिया छनौट गर्ने प्रक्रियामा छ । अहिलेको मुखिया ६२ वर्षका वीरबहादुर शाहीको उमेर बढ्दै गएपछि प्रकाश शाहीलाई मुखिया बनाउने तयारी भइरहेको छ । प्रकाश पनि वीरबहादुरकै आफन्त पर्छन् । उनका लागि पनि बैठकहरू भइसकेका छन् । नयाँ दुई मुखियाका लागि सँगै बैठक बसेको थियो । प्रकाशको पनि परीक्षणकाल चलिरहेको छ ।

सुरुमा एक मात्र मुखिया हुने राउटे समुदायका अहिले ३ मुखिया हुने चलन छ । तीन जनामा एक जना मुख्य मुखिया हुने गरेको जोडी शिक्षक खत्रीले जानकारी दिए । उनका अनुसार ३ जना मुखिया हुन कहिलेबाट भन्ने यकिन जानकारी छैन । २०७५ सालबाट राउटे परियोजना सञ्चालन हुँदा फरक थरका फरक–फरक मुखिया र एक जना मुख्य मुखिया भएको उनले बताए । महिनबहादुरले एक्लै काम गर्न गाह्रो भएकोले आफूलाई २१ वर्षअघिबाटै मुखिया बनाएको सूर्यनारायणले बताउने गरेको उनले सुनाए । पछि तीन वटै थरका मुखिया भएका उनी बताउने गरेका थिए ।

काठका भाँडाकुँडा बनाएर अन्य समुदायमा गएर अन्नपातसँग साटेर जीविका धान्ने यो समुदायको मुख्य पेसा हो । दिनभर काठका सामग्री निर्माण गर्नु, बाँदरको सिकार गर्नु, माग्नका लागि नजिकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या हो । बस्नका लागि हरियो स्याउला र घोचाहरूको गोलाकार र अण्डाकार छाप्रो बनाउँदा बीचमा केटाकेटी खोल्ने र महिलाले धान कुट्ने, निफन्नेसम्म परेको ठाउँ राख्छन् । छाप्रो बनाउने कार्य महिलाले गर्छन् । केही समय यताबाट उनीहरू पैसासँगै अन्य खानेकुरा पनि माग्न नजिकैको गाउँ, बजार पुग्छन् ।

दसैंलगायतका चाडपर्वमा उनीहरू सरकारी तथा गैरसरकारी संघसंस्थामा पनि पुग्छन् । दैलेखको गुराँस गाउँपालिका–८ बाट परिचय पत्र पाएको राउटे समुदाय बसाइँ सरिरहन्छन् । सरकारले यो समुदायका हरेक जनालाई मासिक ४ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । अहिले राउटे समुदायको जनसंख्या १ सय ३६ छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully