भारतको धराली बाढीमा एक बेपत्ता, दुईजना घाइते

४४ वर्षीय जनबहादुर शाही बाढीपछि सम्पर्कविहीन हुँदा परिवारले खोजीकार्यमा सहयोगको लागि आग्रह गरेको छ।

श्रावण २७, २०८२

डीबी बुढा

One missing, two injured in India's Dharali floods

जुम्ला — गत साउन २० गते भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली क्षेत्रमा गएको बाढीमा परेर जुम्लाका एक जना सम्पर्कविहीन छन् । दुईजना घाइते अवस्थामा छन् ।

तिला गाउँपालिका–३ का ४४ वर्षीय जनबहादुर शाही सम्पर्कविहीन भएका हुन् । उनको खोजी कार्यमा सहयोग गर्न परिवारले आग्रह गरेको छ । बाढी गएको एक साता बित्दा पनि उनको अत्तोपत्तो छैन । 

यति लामो समयसम्म परिवारको सम्पर्क बाहिर रहेपछि परिवार चिन्तित छन् । अघिपछि सम्पर्क भइरहने शाहीसँग एकाएक सम्पर्क विच्छेद भएपछि परिवारले खोज तथा उद्धारमा आवश्यक सहयोग गर्न माग गरेको छ ।

बेपत्ता भएका शाही धरालीमा होटल चलाइरहेका थिए । तिला गाउँपालिका ३ को वडा कार्यालयले हराइरहेका शाहीको खोजी कार्यका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध पत्र पठाएको छ । पत्रमा साउन २० देखि उनी हराइरहेको उल्लेख छ । 

तिला गाउँपालिका ५ का वडाध्यक्ष ललितबहादुर शाहीले  धराली पहिरोमा परि २ जना घाइते भएको जानकारी प्राप्त भएको बताएका छन्  । उनले तिला गाउँपालिका ५ का वीरेन्द्रबहादुर शाही र यज्ञ विक्रम शाही घाइते अवस्थामा छन् । वीरेन्द्रबहादुरको देरादुन एनसी अस्पतालमा र यज्ञको देरादुन भारतीय सैनिक व्यारेकमा उपचार भइरहेको छ ।

वडाध्यक्ष ललितबहादुर शाहीले भने, ‘वीरेन्द्रबहादुरको टाउको फुटेर गम्भीर चोट लाग्नुको साथै दायाँ हात दुई ठाउँमा भाँचिएको छ । यज्ञको पनि शरीरका धेरै ठाउँमा चोटपटक लागेको जानकारी आएको छ ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully