किसानले विषादी छर्दै आए पनि वर्षाका कारण रोग नियन्त्रणमा आउन सकेन भने ५० लाखभन्दा बढीको क्षति भइसकेको छ ।
What you should know
सल्यान — छत्रेश्वरी गाउँपालिका-४ जयचौरका ३४ वर्षीय हुर्मत डाँगीले गत जेठमा १० रोपनी जग्गामा टमाटरका ६ हजार बेर्ना लगाए । ६ हजार बोटबाट १ सय ५० क्विन्टल टमाटर उत्पादन गरेर उनले ६ लाख हाराहारी बिक्री गर्ने सोच बनाएका थिए ।
असारको अन्तिमतिर टमाटरले जब फल दिन सुरु गरेको थियो, त्यही बेला लगातार केही दिन वर्षा भएपछि डढुवा रोग लाग्यो । फल लागिसकेका सबै टमाटर सखाप भए ।
कपुरकोट गाउँपालिका-१ का किसान सम्पद बुढाथोकीले पनि १८ रोपनी जग्गामा २८ हजार टमाटर बेर्ना लगाएका थिए । फल फलेर पाक्न थालेको अवस्थामा डढुवा रोगको प्रकोप देखियो । टमाटर कुहिँदै झरे । १८ रोपनीमा लगाएको टमाटरमा रोग लागेपछि उनले विषादी छरे पनि १४ क्विन्टलभन्दा बढी फल कुहिएर खेर गयो ।
उनीहरुजस्ता किसानले लाखौं क्षति भोग्नुपरेको छ । रोगले कपुरकोट गाउँपालिकाको सबै वडा र छत्रेश्वरीको जयचौर, सांघार, भोटेचौरका किसानको टमाटरमा क्षति पुगेको छ । १० रोपनीमा लगाएको टमाटर डढुवा रोगबाट सखाप भएको र विषादी प्रयोग गर्दा फल कुहिएको कपुरकोट गाउँपालिका-३ का किसान पदम बुढाथोकीले बताए । अहिले उनले बोट उखेलेर धानबाली लगाएका छन् ।
कपुरकोट-१ का किसान धनबहादुर घर्ती आफ्ना दाजु नरबहादुरले १०/१२ रोपनी जग्गामा लगाएको टमाटर पनि रोगकै कारण कुहिएर झरिरहेको बताउँछन् । रोगका कारण एउटै किसानको २५ देखि ३० हजार रकम बराबरको क्षति भएको उनको भनाइ छ ।
कपुरकोटभित्र ३ हजारभन्दा बढी किसानले बेमौसमी व्यावसायिक तरकारी खेती गर्दै आएका र त्यसमा सबैभन्दा बढी टमाटर लगाउने गरेकामा डढुवा रोगका कारण ५० प्रतिशत किसान प्रभावित भएको कृषि शाखा प्रमुख विनोद थापाले बताए । किसानले विषादी छर्दै आए पनि वर्षाका कारण रोग नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ । 'रोगकै कारण ५० लाखभन्दा बढीको क्षति भइसकेको छ,' उनले भने ।
छत्रेश्वरी गाउँपालिकाका कृषि प्राविधिक सुदिप खनालले जयचौर, भोटेचौर, सांघारका दर्जनभन्दा बढी किसानले लगाएका टमाटरमा डढुवा रोगले क्षति पुर्याएको बताए ।
कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तीले सिद्धेश्वरीको ढोडचौर र शारदा नगरपालिकाको केही स्थानका किसानले लगाएको टमाटरमा पनि डढुवाको प्रकोप देखिएको बताए ।
