बाढीपीडितका घर बनाउँदै सिंजा गाउँपालिका

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने, ‘अब बाढीपीडितले चुहिने घर र पालको बास बस्नुपर्ने अवस्था छैन ।’

श्रावण २४, २०८२

डीबी बुढा

Building houses for flood victims, Sinja Rural Municipality

What you should know

जुम्ला — २०७९ असोज १९ देखि परेको अविरल बर्षाले जुम्ला सिंजा गाउँपालिका-२ चुलेलगाउँका तीर्थबहादुर वडको घर बगाइदिएपछि परिवार नै विस्थापित बन्यो । केही महिना पाल टाँगेर खुला आकाशमा बस्न बाध्य भएका तीर्थबहादुरको परिवार केही महिना भतिजको घरमा बस्यो । तर त्यो घर चुहिने भएकोले निकै सास्ती भइरहेको थियो । 

उनको घरमा मानवीय क्षति भएन तर अन्नपानी, लत्ताकपडा सबै पुरिदियो । उनले भने, ‘बाढीपहिरोले उठिबास बनाइदियो । अहिलेसम्म सिंगो परिवार विस्थापित नै बन्यो । न परिवारको बसाइ निश्चित छ, न बालबच्चाको पठनपाठन नै ।’ यस्तै अप्ठ्यारा झेल्दै आएका तीर्थबहादुरको तीन वर्षपछि अहिले चारकोठे घर बनेको छ । सिंजा गाउँपालिकाको ९५ हजार रुपैयाँ र पेस नेपालको ५० हजारभन्दा धेरै रकमले माटोको छाना भएको मौलिक घर बनेको हो । उनले भने, ‘तीन वर्षपछि बल्ला घरमा बस्न पाइएको छ । अब त्यस्तो पहिरो कहिल्यै नजावस् ।’ 

सिंजा गाउँपालिकाको तथ्यांकअनुसार बाढीपहिरोले १४६ घर पूर्णरुपमा क्षति भएका थिए । साढे ३ सयभन्दा धेरै घर आंशिक रुपमा क्षति भए । आंशिक रुपमा क्षति भएका घरहरु पूर्णरुपमा बनिसकेका छन् । जसको घर नै थिएन । पालमा बसिरहेका थिए । उनीहरुको घर बनाउन सुरु भएको छ । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने, ‘अब बाढीपीडितले चुहिने घर र पालको बास बस्नुपर्ने अवस्था छैन ।’

पूर्णरुपमा क्षति भएका ११६ घरका लागि विपद प्राधिकरणबाट पहिलो किस्ताबापतको बजेट आइपुगेको छ । तीमध्ये पनि २८ घर निकै विपन्न परिवारका भएकोले निर्माण सुरु हुन सकेन । अहिले २८ घर बनाउन पालिका सरकार लागि परेको छ । जसमा ९ घर बनिसकेका छन् । उनले भने, ‘नौ घर परम्परागत मौलिक तरिकाले बनेका छन् । माटोको छाना भएका र अत्यन्तै बलियो घर बनेका छन् । जस्तापाता विस्थापित हुने गरेर घर निर्माण भइरहेका छन् । यो घर चिसोमा न्यानो हुने र गर्मीमा शीतल हुने गरी बनाइएको छ ।’

यी २८ घर बनाउने काम सकिएपछि बाँकी ३० घर बनाउने कार्यको सुरुवात हुनेछ । बाढीले अनाजपानीसमेत बगाएको थियो तर अहिले बाढीपीडितको बास जोड्ने कार्यमा रहेको अध्यक्ष धितालले बताए । 

पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले बाढीपीडितको घर निर्माणका लागि पालिका सरकारसँग हातेमालो गरेर अघि बढेको बताए । उनले भने, ‘पहिलो चरणमा बाढीपीडितले ढुक्कसँग बस्न पाउनुपर्‍यो भन्ने छ । त्यसपछि बाढीपीडितका अन्य समस्याहरुमा छलफल गरेर अघि बढ्न सकिने अवस्था रहन्छ ।’ सरकारले घर बनाउन थालेपछि बाढीपीडितहरु खुसी छन् । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully