हेलिकप्टर उपलब्ध नभएपछि गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान समस्या भएको छ।
What you should know
कालिकोट — जुम्लाबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी दुर्घटनामा घाइते ७ मध्ये चार जनाको अवस्था गम्भीर छ। दुर्घटनास्थल कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डको कालिकोट चौखोलाबाट उद्धार गरी जिल्ला अस्पताल मान्म ल्याइएका घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान रेफर गरिएको थियो।
तर हेलिकप्टर नहुँदा थप उपचारका लागि दान नसकिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक महतले जानकारी बताए।
घाइतेमध्ये एक महिला र तीन पुरुषको अवस्था निकै गम्भीर रहेको छ। दुई जनाको ब्लडिङ रोकिन नसकेको र उनीहरूको उपचारमा समस्या भइरहेको बताइएको छ। हेलिकप्टर नहुँदा सुर्खेत लैजान समस्या भएको र त्यसका लागि पहल भइरहेको छ।
प्रतिकूल मौसमका कारण एक हेलिकप्टर बडिमालिका क्षेत्रमा फसेको छ भने बिरामीलाई लैजाने हेलिकप्टरको भाडा कसले व्यवस्था गर्ने भन्ने स्पष्ट नहुँदा समस्या उत्पन्न भएको छ। कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने, 'हेलिकप्टर खोजी भइरहेको छ। सुर्खेत र काठमाडौँसँग कुराकानी भइरहेको छ। मौसम अनुकूल भएपछि हेलिकप्टर आउला।'
शुक्रबार बिहान जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको चौखोला नजिकैबाट खसेर तीला नदीको भेलमा परेको छ। प्रहरीका अनुसार गाडी ओभरस्पिडमा थियो। गाडी सडकबाट लगभग १०० मिटर तल नदीको भेलमा परेको भए पनि अन्य गाडीका यात्रु र स्थानीयले उद्धार गरी घाइतेलाई अस्पताल पुर्याएका थिए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीका अनुसार घाइते ७ मध्ये ४ जना जुम्लाका, २ जना कालिकोटका र १ जना सुर्खेतका छन्। गम्भीर घाइतेमा कालिकोट तीलागुफा नगरपालिका–६ का २० वर्षीय प्रकाश शाही (दुवै खुट्टा भाँचिएको), सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ का ३० वर्षीय लालबहादुर बस्नेत, जुम्ला हिमा गाउँपालिका–१ की २५ वर्षीया गंगा परियार र उनका पति २८ वर्षीय रविन परियार रहेका छन्। परियार दम्पतीका ५ वर्षे छोरा सुमनको अवस्था सामान्य छ।
त्यस्तै हिमा–२ की १६ वर्षीया अबिगेल परियार र कालिकोट शुभकालिका–२ का सहचालक प्रकाश शाहीको अवस्था पनि सामान्य रहेको छ।
दुर्घटनामा परेकाहरूलाई नदीको किनारबाट जोखिम मोलेर उद्धार गर्न सफल भएको कुरा जुम्लाबाट सुर्खेत जाँदै गरेका अर्को गाडीका यात्रु बलिराज बुढाले बताए। उनले भने, 'गाडी खस्ने बित्तिकै हामी पछिल्लो गाडीमा थियौं। तुरुन्त तीला नदीको किनारमा पुगेर डोरी लगाएर यात्रुलाई गाडीबाट निकाल्यौँ।'
जिल्ला अस्पतालले घाइते प्रकाश शाही र रविन परियारको ब्लडिङ रोकिन नसकेको जनाएको छ।
