भारतीय तीर्थयात्रीले हुम्ला सदरमुकाम भरिभराउ, सबैभन्दा धेरै दक्षिण भारतीय, ३ हजार भारतीयले गरे कैलाश मानसरोवर दर्शन
What you should know
सुर्खेत — लामो समयपछि कैलाश–मानसरोवर रुट खुलेपछि हुम्ला हुँदै मानसरोवर जाने भारतीय तीर्थयात्रीको चाप बढेको छ । बुधबार मात्रै सिमकोट विमानस्थलमा १३ जहाजले उडान गरे । भारतीय तीर्थयात्रीको चाप बढेपछि दिनको ५ देखि ८२ वटासम्म उडान भएका छन् । सिमकोट विमानस्थलमा ५ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ ।
गत वर्षको चैतयता झन्डै ३ हजार भारतीयले मानसरोवर भ्रमण गरिसकेका छन् भने असोज दोस्रो साता (सेप्टेम्बर) सम्मका लागि होटल बुकिङ भइसकेका छन् ।
अहिलेसम्म २ हजार ९ सय ९८ जनाले मानसरोवर दर्शन गरिसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बुधबार झन्डै दुई सय भारतीय तीर्थयात्री हुम्ला पुगेको हुम्ला विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए । मानसरोवर तीर्थयात्रीलाई लक्षित गरी तारा, सीता र समिट एयरलाइन्सका दुई–दुई जहाज नेपालगन्जमा राखिएका छन् । सिमकोटमा सिम्रिक, फिस्टेल, माउन्टेन, प्रभु र कैलाश हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ ।
कोरोना महामारीका कारण चीनले झन्डै चार वर्ष कैलाश मानसरोवर तीर्थयात्रा बन्द गरेको थियो । हुम्लाको रुट कैलाश मानसरोवर पुग्ने सबैभन्दा छोटो रुट भएकाले तीर्थयात्रीको आकर्षण बढिरहेको हुम्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नाम्ग्याल तामाङले जनाए । ‘यो रुट अन्य रुटका तुलनामा छोटो, सजिलो र कम शारीरिक थकान दिने विशेषताको छ,’ उनले भने, ‘तीर्थयात्रीले आसपासका मनमोहक क्षेत्रको दृश्यावलोकन पनि गर्न पाउने भएकाले यही रुटबाट कैलाश दर्शनमा जाने इच्छा देखाएका छन् ।’
अन्य रुटहरूमा १२ दिनदेखि २४ दिनसम्मको कठिन र लामो यात्रा हुने गरेकाले हुम्लाको रुट सजिलो मानिएको छ । नेपालगन्ज–हुम्ला भएर यात्रा गर्दा ६ देखि १० दिनमा कैलाश मानसरोवर दर्शन गरी फर्कन सकिने तामाङले जनाए । ‘लामो समय बन्द भएकाले भारतीय तीर्थयात्री कैलाश दर्शनका लागि लालायित छन्, हामी जतिसक्दो धेरै तीर्थयात्रीलाई भित्र्याउने कोसिसमा छौं,’ उनले भने, ‘होटलको बुकिङ सेप्टेम्बर अन्तिमसम्म भएकाले यस वर्ष झन्डै १० हजार पर्यटक आउने अपेक्षा छ ।’
नेपालगन्जबाट जहाजमार्फत सिमकोट पुगेका पर्यटक हेलिकोप्टर र गाडीमार्फत नेपाल–चीन सीमाको हिल्सा पुग्ने गरेका छन् । सिमकोटबाट हिल्सासम्मको ९५ किलोमिटर सडक ६ घण्टामा यात्रा गर्न सकिने स्थानीय व्यवसायी विजय लामाको भनाइ छ । सिमकोटमा एक दिन बास बसेर तीर्थयात्री हिल्सा पुग्छन् भने त्यहाँबाट सडकमार्ग हुँदै कैलाश मानसरोवर पुग्ने गरेका छन् । हिल्साबाट मानसरोवरसम्मको दूरी ७९ किलोमिटर छ । मानसरोवर दर्शनपछि उनीहरू हिल्सा रुट हुँदै सिमकोटमा फेरि एक रात बास बस्ने गरेको उनले जनाए ।
कैलाश यात्राका लागि सडकमार्गबाट काठमाडौं–केरुङ, हवाई र सडकमार्गबाट काठमाडौं–ल्हासा, सडकमार्ग हुँदै भारतको उत्तराखण्ड—लिपुलेक पास र सडकमार्गबाटै सिक्किम हुँदै नाथुला रुट भएर जान सकिन्छ । तर सबैभन्दा छोटो रुट हिल्साको बाटो भएको अर्का पर्यटन व्यवसायी मिम लामाले बताए ।
अहिले भारतीय तीर्थयात्रीका कारण नेपालगन्जका होटल भरिभराउ भएको होटल कल्पतरुका प्रबन्धक लक्ष्मण पन्थीको भनाइ छ । दैनिक ८० जनासम्म पर्यटक होटलमा बसिरहेको उनले जनाए । अझै दुई महिनाका लागि होटल बुकिङ भएको उनको भनाइ छ । समिट एयरका नेपालगन्ज प्रमुख दीपकबहादुर शाहले पनि उडानको प्रिबुकिङ भने सेप्टेम्बर अन्तिमसम्म भएको जानकारी दिए ।
भारतीय तीर्थयात्रीलाई लक्ष्य गर्दै हुम्ला सदरमुकाम सिमकोटमा पनि झन्डै एक दर्जन पर्यटकीय होटल खोलिएको छ । हिल्सामा भने ३५ वटा होटल सञ्चालनमा रहेको पर्यटन व्यवसायी मनोज रोकायाले बताए । यो वर्ष सबैभन्दा बढी दक्षिण भारत, तालिमनाडु, केरला र कर्नाटकका तीर्थयात्रीले प्याकेज बुकिङ गराएको उनको भनाइ छ । होटल व्यवसायीले भारतीयलाई एक रातको बसाइ र खानासहित प्रतियात्रु दुई हजार पाँच सय रुपैयाँको प्याकेज बनाएको उनले जनाए ।
पर्यटकबाट सिमकोट र नाम्खा गाउँपालिकाले १ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाको भनाइ छ । उक्त रकम ६० प्रतिशत सिमकोट र ४० प्रतिशत नाम्खा गाउँपालिकामा संकलन हुने गरेको छ । भारतीय तीर्थयात्रीका कारण होटल व्यवसायी, पर्यटन व्यवसायी र सामान बोक्ने भरियालाई समेत भ्याइनभ्याइ भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।
पर्यटक बढेसँगै स्थानीय युवाले रोजगारी पाएका छन् भने कृषिजन्य उत्पादनले बजार पाएको छ । ‘पर्यटकीय चहलपहलले आर्थिक कारोबार बढिरहेको छ, होटलहरूमा कामदारहरू थपिएका छन्,’ उनले भने, ‘भारी बोक्ने, ओसार्ने, गाडी चलाउने सबैले काम पाएका छन् ।’ तीर्थयात्रीले कोसेलीका रूपमा ओखर, सिमी, भाँगोलगायत स्थानीय उत्पादन लैजाने गरेकाले कृषि उपजले पनि मूल्य र बजार पाइरहेको उनले जनाए ।
मानसरोवर हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो । प्रत्येक वर्ष अप्रिलदेखि सेप्टेम्बरसम्म मानसरोवर कैलाश दर्शनको सिजन मानिएको छ । लामो समयपछि कैलाश दर्शन गर्न पाउँदा खुसी लागेको भारतको मुम्बई घाटकोयाबाट आएका कैलाश पटेलले सुनाए । ‘जीवनमा एकपल्ट कैलाश दर्शन गर्ने धोको थियो, पूरा भयो,’ उनले भने, ‘कैलाश दर्शनपछि साक्षात् शंकरजीको दर्शन पाएको अनुभव गरें ।’
उत्तरप्रदेशबाटै आएका गोविन्द गुप्ताले कैलाशको दर्शन र परिक्रमा गर्नाले मोक्ष प्राप्ति हुने विश्वास रहेको बताए । ‘स्थानीयको माया र स्वागतले पनि सन्तुष्टि मिल्यो,’ उनले भने, ‘आशा छ शंकरजीले हाम्रो मनोकांक्षा पूरा गरिदिनुहुनेछ ।’
भारत सरकारले कैलाश मानसरोवर जाने आफ्ना नागरिकलाई २५ हजारदेखि एक लाख भारुसम्म अनुदान दिँदै आएको छ । भारतीय तीर्थयात्रीले सन् २००६ देखि हिल्सामार्ग प्रयोग गर्न थालेका थिए । २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द हुँदा हुम्लाको हिल्सा नाका भएर तीर्थयात्रा गर्नेको संख्या ह्वात्तै बढेको थियो । कोरोना महामारीसम्म झन्डै ४ वर्षमा १८ हजार भारतीय तीर्थयात्रीले मानसरोवर दर्शन गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाको तथ्यांक छ ।
तीर्थयात्रीका लागि सहज यातायातका साधनसहित सुरक्षाको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जनाए । ‘जतिसक्दो धेरै तीर्थयात्रीले सहजतापूर्वक कैलाश दर्शन गर्न पाऊन् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘यसले समग्र कर्णालीको पर्यटन व्यवसाय र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पारेको छ ।’
