कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने

कठिन भौगोलिक अवस्थिति रहेको कालीकोटमा नागरिकतालगायतका सेवा लिन सदरमुकाम मान्म पुग्न त्यस क्षेत्रका नागरिकलाई कठिनाइ छ ।

श्रावण २३, २०८२

तुलाराम पाण्डे

An area administration office will be established at Raskot in Calikot

What you should know

काठमाडौँ — कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गरेर प्रदेश निर्वाचन क्षेत्र नं ख का लागि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न बिहीबार अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताका लागि स्वीकृति प्रदान गरेको हो ।

कठिन भौगोलिक अवस्थिति रहेको कालीकोटमा नागरिकतालगायतका सेवा लिन सदरमुकाम मान्म पुग्न त्यस क्षेत्रका नागरिकलाई कठिनाइ छ । जनगुनासो सम्बोधन गर्दै सरकारले इलाका प्रशासन कार्यालय स्थापनाको लागि स्रोत सुनिश्चित गरेको रास्कोट घर भएका एमाले केन्द्रीय सदस्य नगेन्द्र शाही नेसनलले बताए । 'कर्णालीपारिका नागरिकको वर्षौं देखिको माग पूरा भएको छ,' उनले भने, 'अब नागरिकता बनाउनकै लागि कम्तीमा ३ दिनको समय र ३ हजार रुपियाँ बचत हुनेछ ।' उनले रास्कोट इलाका प्रशासनका लागि सबै दलले चुनावी मुद्दा बनाएको स्मरण गर्दै नरहरिनाथस्थित कोटबाडा विमानस्थल सञ्चालन, मान्म कोटबाडा केबुलकार वा लामो पुलको आवश्यकता रहेको सुनाए ।

An area administration office will be established at Raskot in Calikot

रास्कोटलाई केन्द्र बनाएर शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन तथा सरकारी सेवा उपलब्ध गराउन भएका प्रयास सफल हुँदै गएको नगर प्रमुख धर्मराज शाहीले बताए । उपप्रमुख मनिराज बरालले नागरिकता बनाउनकै लागि सदरमुकामपारिका करिब ७० हजार बासिन्दाले सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको जानकारी दिए ।

संघीयताको मर्मअनुसार सहज सेवा दिन राज्यले गरेको निर्णय स्वागतयोग्य भए पनि नरहरिनाथका नागरिकलाई रास्कोटभन्दा मान्म पायक पर्ने भएकाले सदरमुकाम बाटै नागरिकता लिने व्यवस्था हुनुपर्ने गाउँ पालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताउँछन् । उनले नरहरिनाथका बासिन्दाका लागि मान्मलाई नै सेवा केन्द्र तोक्न सरकारसँग आग्रह गरे । नरहरिनाथका करिब २५ हजार बासिन्दा र सान्नीत्रिवेणी १,२ र ३ का ५ हजार बासिन्दाका लागि मान्म नजिक पर्छ ।

नरहरिनाथका बासिन्दाका लागि रास्कोट जान असजिलो र उल्टो बाटो पर्ने गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले प्रतिक्रिया दिए । 'प्रदेश निर्वाचन ख अन्तर्गतका अन्य पालिकाका लागि रास्कोट पायक नै पर्छ,' उनले भने, 'नरहरिनाथका बासिन्दालाई उल्टो र झन खर्चिलो हुने भएकाले हाम्रो लागि सदरमुकाम मान्म नै ठिक छ । ' 

इलाका प्रशासन कार्यालय स्थापना भएपछि नागरिकले सामान्य कामका लागि पनि सदरमुकाम धाउनु नपर्ने कालीकोटका सहायक प्रजिअ जनक शर्माले बताए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully