दसौं राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न बिहीबार सुर्खेत पुगेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँगको छलफलमा उनले पटक-पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा त्यसले नकारात्मक सन्देश गएको बताए ।
वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको कारणले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने धारणा राखेका छन् । प्रदेश सरकार तयार रहेकोले अब नसर्ने गरी मिति तोक्न उनले संघीय सरकारलाई आग्रह गरेका छन् ।
दसौं राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न बिहीबार सुर्खेत पुगेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँगको छलफलमा उनले पटक-पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा त्यसले नकारात्मक सन्देश गएको बताए । 'अब त्यस्तो गल्ती नदोहोर्याउन संघीय सरकारलाई आग्रह गर्छु,' उनले भने, 'कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट हामी प्रतिबद्ध छौं । त्यहीअनुसार तयारी पनि गरिरहेका छौं तर आयोजक तपाईंहरू हो, अब पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै विचार गरेर मिति तोक्नु होला ।' मिति तोक्दा संघीय र प्रदेशको जिम्मेवारीसहित स्पष्ट तालिका बनाउन आग्रहसमेत गरे ।
उनले प्रतियोगिता गर्न यसअघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टि जनाए । उनले भने, 'यहाँ नभएका जनशक्ति बाहिर ल्याउनुहोला तर प्रतियोगिताकै लागि जम्बो उपसमिति बन्ने र बनाउनेतर्फ सचेत रहनुहोला ।'
खेलकुदमन्त्री चौधरीले प्रतियोगिताका लागि अब मिति नसर्ने गरी तयारी भइरहेकोले त्यसमा ढुक्क हुन आग्रह गरे । उनले सुर्खेत आसपास हुने गरी प्रतियोगिताका लागि २४ वटा खेलका लागि तयारी भएको जानकारी गराए । छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री राजीवबिक्रम शाह, सामाजिक विकासमन्त्री धनश्याम भण्डारीलगायतको उपस्थिति थियो ।
