तीर्थयात्रीका लागि बडिमालिकामै चिकित्सकसहितको स्वास्थ्य सेवा

कालिकोट, बाजुरा, अछाम, मुगु लगायतका जिल्लासहित देशभरका श्रद्धालुहरू बडिमालिकाको दर्शन गर्न जाने गर्छन्।

श्रावण १९, २०८२

तुलाराम पाण्डे

Health services for pilgrims with doctors in the capital

What you should know

कालीकोट — बडिमालिका जाने तीर्थयात्रीका लागि यहाँको रास्कोट नगरपालिकाले चिकित्सकसहितको टोली परिचालन गरेको छ। यहाँ हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन पूजा आजा गर्नेको भीड लाग्ने गर्छ। त्यही सन्दर्भमा यो वर्ष साउन २२ गते विशेष पूजाआजा हुँदैछ।

पूजा र बडिमालिका दर्शन गर्न आउने भक्तजन्‌को आकस्मिक स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमबाट बचाउन नगरपालिकाले चिकित्सकसहितको टोली परिचालन गरेको हो। स्वास्थ्य सेवा सञ्चालन गर्न एमबीबीएस डाक्टरसहितको टोली आइतबार दिउँसो बडिमालिकातर्फ पठाएको नगरपालिकाका मेयर धर्मराज शाहीले बताए।

४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिकामा लेक लाग्ने, दम बढ्ने र अन्य दुर्घटना लगायत स्वास्थ्य समस्या भएका बिरामीलाई लक्षित गरी चिकित्सकसहित ५ जनाको टोली पठाइएको हो। प्रहरीका अनुसार रास्कोटको बाटो हुँदै १ हजार ५ सय बढी तीर्थयात्री बडिमालिका गएका छन्।

कालिकोटको रास्कोट नगरपालिका, सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिकाबाट फरक-फरक बाटो हुँदै बडिमालिका पुग्न सकिन्छ। शिविरका लागि रास्कोट नगर अस्पतालका डा. कमल प्रसाद बराल, जनकराज न्यौपाने, नागराज बरालसहितको स्वास्थ्यकर्मीको टोली औषधि सहित पठाइएको मेयर शाहीले बताए। विगतमा धेरै तीर्थालुहरुलाई लेक लागेर बिरामी पर्ने देखिएकोले यो वर्ष त्यस्तो समस्या नहोस् भन्ने हेतुले स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले बताए।

कालिकोटको सदरमुकाम मान्म जिल्ला प्रशासनको नेतृत्वमा पूजाको डोली बोकेर आएको सरकारी टोली, पुजारीसहित नगरपालिकाको टोली बडिमालिका मन्दिर प्रस्थान गरेको छ। यसअघि जुम्ला  र डोटी जिल्ला प्रशासनबाट मात्र सेना प्रहरीसहितको सरकारी टोली मात्र बाजुरास्थित बडिमालिका मन्दिर जाने गरेको भए पनि बडिमालिका माई (देवी) का पुजारी सहित सबैभन्दा बढी भक्तालुहरु कालिकोटबाट जाने भएकाले यस पटकदेखि कालिकोटको सरकारी टोली पनि बडिमालिका प्रस्थान गरेको हो ।

कालिकोट, बाजुरा, अछाम, मुगु लगायतका जिल्लासहित देशभरका श्रद्धालुहरु बडिमालिकाको दर्शन गर्न जाने गर्छन्। पश्चिम नेपालकै  प्रमुख धार्मिक स्थल बडीमालिका पुग्न तीर्थ यात्री नुहाएर शुद्ध हुने त्रिवेणी धाम, ज्यूली पाटन र पुजारी पनि कालिकोटबाट जाने परम्परा रहेको छ ।

बडिमालिका माताको मन्दिरमा पूजाआजा गरे मनको इच्छा पूरा हुने धार्मिक विश्वास छ । बडिमालिका मन्दिर बाजुराको भूगोलमा परे पनि  यात्रु बास बस्ने, स्नान गर्ने, पुजारी कालिकोटबाट जाने गर्छन् ।

स्थानीयले आफ्नो मनको इच्छा पूरा हुने आशामा धजा पतका, फूलपाती, अक्षता, मूर्ति पठाएका छन् । मुख्य पुजारीसहित कालीकोटबाट लिएको अक्षता, फूलपाती बडिमालिकामा चढाउने चलन रहेको छ।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully