जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् ।
आइतबार दिउँसो ३ बजेतिर आफ्नै घरमा जंगली च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महातरा, ५८ वर्षीया राजकुमारी महातरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा विष्ट र ३ वर्षीय बालक पुजन विष्ट बिरामी परेका हुन् ।
प्रहरी निरीक्षक अशिम हमालले च्याउ खाएर पाँच जनाको परिवार बिरामी परेको बताए । उनले भने, ‘अहिले अस्पतालमा उपचार हुँदैछ । सबैको स्वास्थ्य अवस्था सामान्य नै छ ।’
उनीहरु बिरामी परेको जानकारी पाउने बित्तिकै पाँचै जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइपुर्याएको थियो । अहिले बिरामी सबैको अवस्था सामान्य रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।
भौगोलिक विकटताले दुरी निकै टाढा भएकोले अहिले सवा ७ गते मात्रै अस्पताल पुर्याइएको थियो । बिरामी परेको सुन्ने बित्तिकै मणिसाँघु प्रहरीचौकीबाट प्रहरी सहायक निरीक्षक मञ्जित ओलीको कमान्डमा तीन सदस्यीय टोली गाउँमा पुगेको थियो । स्थानीयका अनुसार वर्षायाममा यो च्याउ सर्वत्र पाइन्छ । केही च्याउ निकै विषालु हुन्छन् त केही च्याउ खाँदा केही हुँदैन ।
जिल्ला प्रहरी कार्यालय सकेसम्म जंगली च्याउको प्रयोग नगर्न र यदि गरिहालेमा सतकर्ता अपनाएर मात्र खान सुझाव दिएको छ ।
