तिला नदीमा बग्दै आएको रतुवाको उद्धार

श्रावण ९, २०८२

डीबी बुढा

Rescue of Ratua flowing in Tila river

जुम्ला — जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजार नजिकैको तिला नदीमा बग्दै आएको रतुवाको स्थानीयले उद्धार गरेका छन् । उनीहरुले बग्दै गरेको रतुवा उद्धार गरी प्रहरी चौकीमा बुझाएका हुन् ।

तिला गाउँपालिका–३ का मुनप्रसाद भट्टराई, सन्तवीर सार्की र नरेन्द्र सार्कीले बग्दै गरेको रतुवाको उद्धार गरेको प्रहरीचौकी कुडारीले जनाएको छ । प्रहरीचौकीमा रतुवा बुझाउने बित्तिकै चौकीले सब डिभिजन वन कार्यालय तातोपानी जुम्लालाई खबर गरेको थियो ।  

लगतै प्रहरी चौकी, डिभिजन वन कार्यालय तातोपानी र तिला–३ का जनप्रतिनिधिको रहोबरमा रतुवाको उद्धार गरिएको मुचुल्का गरिएको थियो ।

Rescue of Ratua flowing in Tila river

'रतुवा सकुशल थियो । चोटपटक कुनै थिएन । मुखमा सामान्य घाउजस्तो देखिएपनि खासै असर थिएन,' तातोपानी सब डिभिजन वन कार्यालयका रवीन्द्र अधिकारीले भने । उनका अनुसार रतुवाको स्वास्थ्य जाँच गर्दा कुनै समस्या नदेखिएपछि द्यार खड्का पातल सामुदायिक वनमा छोडिएको छ ।

पूर्वमा सुन्दर सामुदायिक वन, पश्चिममा राष्ट्रिय वन, उत्तरमा राँका गाउँ, दक्षिणमा त्रिवेणी गाउँ रहेको बीचको जंगलमा छाडिएको मुचुल्कामा जनाइएको छ । पछिल्लो समयमा बस्तीसम्म जंगली जनावर आउने गरेका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully