What you should know
जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकाले किसानलाई गुणस्तहीन गँड्यौंला मल बाँडेको भन्दै किसान आक्रोशित भएका छन् ।गँड्यौंला मलका नाममा रातो माटोजस्तो मल दिएपछि किसान सशंकित भएका हुन् ।
गत आर्थिक वर्ष जनतासँग उपाध्यक्ष कार्यक्रम शीर्षकमा किसानलाई मल दिन थालिएको थियो । चितवनस्थित दिव्य अर्गानिक फर्टिलाइजर कम्पनीले मल उपलब्ध गरेको थियो । कम्पनीले लामो समय स्टोर गरेको मल दिएको भन्दै किसानहरु आक्रोशित बनेका हुन् ।
'मल दुई वर्ष अघिदेखि गाउँपालिका कार्यालय नजिकै स्टोर गरेर राखेको थियो,' कम्पनीको जुम्ला सम्पर्क व्यक्ति भैरव कठायतले भने, ‘साउन ७ देखि बाँड्न सुरु भयो । रातो माटोजस्तो मल देखिएपछि किसानहरु समस्यामा परेका हुन् ।’
कम्पनीका सञ्चालक नरेन्द्र गिरीले २०७४ सालदेखि एक लाख किलो मल जुम्लामा आइपुगेको बताए । उनले लामो समय स्टोर गरेर राखेको मल गुणस्तरहीन नहुने तर हावा र पानी छिरेपछि मलले काम गर्न नसक्ने बताए ।
मलको बोरा नै फुटेका छन्, जसले गुणस्तरीयतामा प्रश्न उठेको छ । गाउँपालिकाले ३५५ बोरा मल ल्याएको थियो । खरिदका लागि कम्पनीलाई तीन लाख १५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।
तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले कृषि उत्पादनमा टेवा पुर्याउने हेतुले वितरण गरिएको मल नै गुणस्तरहीन भएपछि समस्या आएको बताइन् । गाउँपालिकाले मल ल्याब परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । परीक्षणबाट गुणस्तरहीन देखिएमा कानुनी प्रक्रिया अघि बढाउने पालिकाले तयारी गरेको अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।
यता माओवादी तातोपानी गाउँकमिटीले गुणस्तर मल किसानलाई बाँडेको विषयमा तत्काल छानबिन गर्न माग गरेको छ । 'पहिले मलको गुणस्तरको विषयमा छानबिन होस्, माओवादी तातोपानीका अध्यक्ष जक्तिप्रसाद न्यौपानेले भने, ‘अनि खरिद प्रक्रियामा संलग्न व्यक्ति र मल दिने कम्पनीलाई कारबाही होस् ।’
