What you should know
सल्यान — सल्यानको शारदा नगरपालिका-९ बाग्चौर, साल्चौर, बाँसखोला, नेपानेमा किसानले लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । किराको प्रकोपका कारण अहिले तीन सयभन्दा बढी रोपनी खेतमा लगाएको धानमा क्षति पुगेको छ ।
काँडेदार खपटे किराको प्रकोपका कारण चार बस्तीका दुई सयभन्दा बढी किसान प्रभावित भएका छन् । किराले धानको हरियो भाग खाएर पात सेतै हुन थालेपछि किसान चिन्तित भएका छन् । किसानले किरा नियन्त्रणका लागि सम्बन्धित निकाय समक्ष आग्रह गरेका छन् ।
किराले ७ रोपनी खेतमा लगाएको धानबाली सखाप पार्न थालेको बाँसखोलाका किसान कुलबहादुर वलीले बताए । सुरुसुरुमा दुई/चार वटा बोटमा मात्र देखिएका किरा अहिले चारैतिर फैलिएका उनको भनाइ छ । ‘गत वर्ष पनि किराले हैरान बनाएको थियो । कृषि विकास कार्यालय र शारदा नगरपालिकाको कृषि फाँटमा जानकारी गराएपछि कार्यालयले उपलब्ध गराएको विषादी छर्दा नियन्त्रणमा आएको थियो,’ उनले भने, ‘अहिले पनि त्यही समस्या दोहोरिएको छ ।’
किराको प्रकोप देखिएपछि विषादी छरेपछि नियन्त्रणमा आउनेभन्दा झनै फैलिएपछि सम्बन्धित कार्यालयमा गएर निवेदन दिएको उनको भनाइ छ ।
बाग्चौरका अर्का किसान नन्दराम बुढाथोकीले किराको प्रकोपका कारण खेतमा हरियो भएर फैलिँदै गएका धान अहिले सेतै देखिन थालेका बताए । ‘मैले ५ रोपनीमा धान लगाएको छु । लगभग सबैमा काँडेदार खपटे किरा देखिएको छ । सुरुसुरुमा त दुई/चार वटा देखिँदा खासै मतलब गरिनँ । अहिले छ्यापछयाप्ती छन्,’ उनले भने, ‘यही किराको प्रकोपका कारण गत वर्ष उत्पादनमा गिरावट आएको थियो । अहिले पनि त्यस्तै हुने अवस्था आएको छ ।’
शारदा नगरपालिका-९ वडा कार्यालयकी कृषि प्राविधिक सीमा बुढाथोकीले वडाका विभिन्न स्थानमा किसानले लगाएको धानबालीमा काँडेदार खपटे किरा मात्र नभई पात बेरुवा किराको पनि प्रकोप देखिएको बताइन् । किरा धमाधम फैलिएकाले आउँदा दिनमा धानबालीमा धेरै क्षति पुग्न सक्ने उनको भनाइ छ । धानबालीमा किराको प्रकोप देखिएपछि अहिले किसानलाई वडाले विषादी उपलब्ध गराउँदै आएको उनले बताइन् ।
कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले किराको प्रकोप फैलिएको भन्दै एक किसान आएपछि प्राविधिक टोली खटाएको बताए । विगतमा किराको प्रकोप देखिएको र पूर्ण रुपमा नियन्त्रणमा नआएकै कारण पुन: प्रकोप बढेको उनले जानकारी गराए ।
