कुटपिट कसुरमा फरार चार जना तीन महिनापछि पक्राउ

श्रावण ६, २०८२

विप्लव महर्जन

Four people absconding in the crime of assault were arrested after three months

सल्यान — कुटपिट कसुरमा सजाय तोकिएपछि फरार रहेका सल्यानका चार जनालाई  प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–८ का २६ वर्षीय रामबहादुर राना, ३९ वर्षीय मनवर्ती घर्ती, २२ वर्षीय हरिलाल विक र ३६ वर्षीय रमेश सुनारलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

एक स्थानीयलाई कुटपिट गरेको मुद्दामा जिल्ला अदालत सल्यानले २०८१ चैत २१ म चारै जनालाई २० दिन कैद र जनही ३५ हजारका दरले जरिवाना हुने फैसला सुनाएको थियो । 

गत तीन महिनादेखि फरार प्रतिवादी आफ्नै घरमा लुकिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानका हवल्दार चन्द्रमणी पोखरेलको कमाण्डमा खटिएको टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । 

पक्राउ परेका चारै जनालाई मंगलबार नै कारागार चलान गरिएको छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully