सामुदायिक विद्यालयकी एक्ली अध्यक्ष 

राहत शिक्षक नियुक्तिमा निकै राजनीतिक चलखेल हुन थाल्यो । उनी डगमगाइनन् । अन्तत: दक्ष शिक्षक नियुक्ति गरिन् ।

श्रावण ५, २०८२

डीबी बुढा

A single headmistress of a community school

What you should know

जुम्ला — दुई वर्षअघि जुम्लाको तिला गाउँपालिका-४ रावतबाडाकी ४९ वर्षीया धनलक्ष्मी धिताललाई गाउँलेले ज्ञानज्योति आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा चुने ।

घरको चुलोचौको समालिरहेकी धनलक्ष्मीले एक्कासि विद्यालय चलाउन थालेपछि स्थानीय चकित परे । कसैले विद्यालय चलाउन सक्दिनन् भन्ने अड्कल काटे त कसैले विद्यालय राम्रो चलाउने चर्चा गरे । 

जब उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चुनिइन्, विद्यालयको भौतिक,आर्थिक र शैक्षिक क्रियाकलापमा प्रत्यक्ष रुपमा जोडिन थालिन् । जिल्लाका एक सय ७० सामुदायिक विद्यालयमा उनी एक्ली महिला अध्यक्ष हुन् । अहिले धनलक्ष्मीलाई कसैले 'अध्यक्षज्यु' भनेर सम्बोधन गर्दा गर्व लाग्छ ।

'अहिले समाजमा महिलाले केही पनि गर्न सक्दैनन् भन्ने भ्रम कायमै छ,' धनलक्ष्मीले भनिन्, ‘यस्तो अवस्थामा विद्यालयको नेतृत्व पाइरहँदा चुनौतीको चाङ नै लागे । तर म चुनौती सामना गर्दै विद्यालयको शैक्षिक अवस्था सुधार गर्न जुटेको छु ।’ 

उनी अहिले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न र भौतिक संरचना सुधारमा लागिरहेकी छन् । अधिकांश समय विद्यालयको हितमै छुट्याउने गर्छिन् । अध्यक्षमा चुनिनेबित्तिकै उनकै विद्यालयका शिक्षकले स्थायी दरबन्दीमा नाम निकाले । स्थायी दरबन्दी नै नभएको यो विद्यालयमा शिक्षक छाडेर गएपछि उनलाई निकै कठिन भयो । विद्यालयमा शिक्षक पद खाली रह्यो । एक बालविकास केन्द्रका शिक्षिकाका रुपमा विद्यालय चल्न थाल्यो । उनी शिक्षक व्यवस्थापन गर्न दौडधुप गर्न थालिन् । पालिकादेखि शिक्षा समन्वय इकाइसम्म पुगिन् । अहिले विद्यालयमा राहत शिक्षक र बालविकास सहजकर्ताको मात्र दरबन्दी छ । 

राहत शिक्षक नियुक्तिमा निकै राजनीतिक चलखेल हुन थाल्यो । उनी डगमगाइनन् । उनलाई हाम्रोभन्दा पनि राम्रो शिक्षकको खाँचो थियो । लामो समयको दौडपछि शिक्षक नियुक्तिका लागि विज्ञापन भयो । विद्यालयको हित चाहने, विद्यार्थीको भलो चाहने दक्ष शिक्षक नियुक्ति गरिन् । ‘विद्यालयमा राम्रो पढाउने शिक्षक आए । सानो गाउँ विद्यार्थी संख्या थोरै भएकाले पढाइ राम्रो गर्ने शिक्षक चाहिएको थियो,’ उनी भन्छिन् । 

राम्रो शिक्षा दियौं भने विद्यार्थीको भविष्य बन्छ, पढाइ राम्रो भएन भने विद्यार्थी स्कुल पठाउनु र नपठाउनुको अर्थ हुँदैन भन्ने मान्यता राख्छिन् उनी । 

A single headmistress of a community school

उनकै पहलमा यसपालि विद्यालयको घेराबार भयो । विद्यालय घेरबार नहुँदा चोरी हुनेदेखि छाडा पशुचौपाय विद्यालयमा पस्ने त्रास थियो । घेरबार गर्न उनकै नेतृत्वमा समिति बन्यो । समितिमा सबै महिला थिए । उनीहरुले पालिकाकै नमुना घेराबार गरेका छन् । कक्षाकोठा व्यवस्थापन, झ्यालढोकामा ग्रिल लगाउने काम पनि उनलै गरिन् । 

नौ जनाको विद्यालय व्यवस्थापन समिति छ, जसमा ४ जना महिला छन् । विद्यालयमा नियमित रेखदेख गर्ने, शिक्षक विद्यार्थीको मनोभावना बुझ्ने काम धनलक्ष्मीले गर्छिन् । उनले भनिन्, ‘कुनै पनि जिम्मेवारी महिलाले पाएमा इमानदारीपूर्ण रुपमा गर्न सक्छन् भन्ने नमुना देखाएका छौं ।’ 

बालविकास केन्द्रकी शिक्षिका जानकरी कुमारी शाही योगी अहिले महिलाले विद्यालय चलाइरहँदा सहज भएको बताउँछिन् ।  ‘हामी महिला भएकाले काम गर्न चुनौती त छन् तर सकीनसकी विद्यालयको हितमा काम भइरहेको छ,' उनले भनिन् ।

अहिले विद्यालय कक्षा ५ सम्म चलिरहेको छ । २६ जना विद्यार्थी छन् । अब सबै मिलेर विद्यालयमा स्थायी दरबन्दी माग गर्नुपर्ने उनको भनाइ छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully