काम सम्पन्नपछि कामदारको पारिश्रमिक नदिएर ठेकेदार सम्पर्कविहीन

श्रावण ३, २०८२

डीबी बुढा

After the completion of the work, the contractor is out of contact without paying the wages of the workers

What you should know

जुम्ला — जुम्लाको तिला गाउँपालिका–४ नुवाकोटका कामदारले काम सम्पन्न भइसक्दा पनि पारिश्रमिक पाएका छैनन् । जाजरकोट घर भएका ठेकेदार राजेन्द्र रसाइलीले कामदारलाई काम गरेवापतको पारिश्रमिक नदिएका हुन् ।

कामदार दलबहादुर नेपालीले २०८० सालमा डोल्पाको जगदुल्ला गाउँपालिका २ झ्यालकोटमा भवन निर्माण र २०८१ सालमा जुम्लाको सिंजा गाउँपालिका जाँचमा खानेपानी निर्माणको काम गरेका थिए । जगदुल्लाबाट साढे ३ लाख रुपैयाँ र सिंजाको जाँचबाट ६ लाख ९५ हजार रुपैयाँ ठेकेदारले ठगेको कामदारहरुको भनाइ छ ।

‘काम सकेर योजना सञ्चालनमा आइसकेका छन् । ठेकेदार रसाइली सम्पर्कमा छैनन्’, दलबहादुरले भने, ‘ठेकेदारको खोजी गरेर कामदारको पारिश्रमिक उपलब्ध गराइदिनुपर्ने माग गरेका छौं ।’ उनले कामदारको श्रमशोषण गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

डोल्पाको जगदुल्लामा ४० जना र सिंजाको जाँचमा ७१ जना कामदारले काम गरेका थिए । यी दुवै स्थानको ठेक्का रसाइलीले नै लिएका थिए । ‘लामो समयसम्म पारिश्रमिक पाउने आशामा बस्यौं,’ दलबहादुरले भने, ‘अहिले सम्पर्कविहीन भएपछि मात्रै ठगिएको थाहा भयो ।’

उनीहरुले ठेकेदारविरुद्ध छानबिन गरेर कारबाही गर्न माग गरेका छन् । ‘हामीले श्रमको मूल्य पाएनौं । पहिले फोन गर्दा घण्टी गइरहन्थ्यो तर उठ्थेन,’ दलबहादुरले भने, ‘अहिले त फोन नलाग्ने बनाइसके ।’

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully