ठेक्का अवधि सकिन ३ महिना मात्र बाँकी
कालिकोट — बहुचर्चित त्रिदेशीय सडक कर्णाली करिडोरका ९ वटा पुल निर्माणको काम अझै सुरु भएको छैन । करिडोर अन्तर्गत कालिकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने ९ वटा पक्की सडक पुलको ०७९ असार ३० गते ठेक्का सम्झौता भए पनि काम अझैं सुरु नभएको सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीले बताए ।
करिडोरका सबै सडक पुल सडक डिभिजन कार्यालय हुम्लाले हेर्छ भने कालिकोटदेखि बाजुरासम्मको सडक बाजुराको पीलुचौर कार्यालयले हेर्छ । करिडोरका ९ वटा पुलको ठेक्का भएको त ३ वर्ष भयो । सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख नेपालीले भने ठेकेदारले काम नै सुरु नगरेको बताए ।
उनकाअनुसार निर्माण व्यवसायीले पुलको डिजाइन स्वीकृत गराएर काम गर्नुपर्ने प्रावधान अनुसार ९ मध्ये ७ वटा पुलको त डिजाइन नै स्वीकृत हुन बाँकी छ । जबकी ठेक्काको अवधि सकिन ३ महिना मात्र बाँकी छ । यही असोज ३० सम्म मात्र ठेक्का अवधि छ ।
कालिकोट खण्डका ३, बाजुराको बड्डी गाड जुड्डी, कवाडी खोला, हुम्लाको गल्फा गाड, सल्लीसल्ला सहित ९ वटा सडक पुल ठेक्का भएर पनि काम नभएको जनाउँदै कालिकोटका सांसद महेन्द्रबहादुर शाहीले असार २३ गतेको संसद बैठकमा आक्रोश पोखे । ‘पक्की पुल कर्णाली करिडोरका ९ वटा पुल अलपत्र छन्,’ उनले भने, ‘अस्थायी बेलिब्रिज बनेकोमा सरकार उत्सव मनाइरहेको छ ।’ उनले कर्णाली राजमार्ग र करिडोरमा बजेट बढाउन माग गरे ।
कर्णाली करिडोर अन्तर्गत कालिकोटको फुगाड खोलाको फलामे बेलिब्रिज ०७६ को असारमा आएको बाढीले बगाएपछि पानी परेको बेला सडक बन्द हुने गरेको छ । पचालझरना र रास्कोटको सिमानामा पर्ने फुगाड खोला, सान्नी त्रिवेणी र रास्कोटको बीचमा पर्ने सान्निगाड खोला र नरहरि नाथ गाउँपालिकामा पर्ने रहगाड खुलालु खोलाको पक्की पुल बनाउने ठेक्का पाएको विकोई कन्ट्रक्सनले हालसम्म पनि सडक विभागबाट पुलको डिजाइन नै स्वीकृत नगराएको सडक डिभिजन प्रमुख नेपालीले बताए ।
‘ठेकेदारले कन्सल्टेन्ट लगायर डिजाइन बनाउने हो । बनाएको डिजाइन सडक विभागका अधिकारीलाई पठाएपछि दिएको फिडब्याक समावेश गरेर त्रुटि सुधार्नुपर्ने हुन्छ,’ उनले सुनाए, ‘कन्सल्टेन्ट पनि विजी हुन्छन्, समय नदिँदा ढिलाई हुन्छ ।’
कालिकोटका ३ वटा पुलको १८ करोडको ठेक्का पाएको बिकोई कन्ट्रक्सनका हरिराम कोइरालाले सडक विभागबाट डिजाइन स्वीकृत हुन ढिलाई भएकोले काम सुरु हुन नसकेको बताए । वर्षाले फुगाड खोला बढेपछि खोला तर्न पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । नेपाली सेनाले निर्माण गरेको फलामे बेलिब्रिज र पहिलेको झोलुङ्गे पुल ०७६ को असारमा आएको बगाएपछि नयाँ पुल बनेको छैन ।
सुख्खा सिजनमा खोलाबाट गाडी र पैदल यात्री आवत जावत गर्न कठिनाइ नभए पनि वर्षा याममा खोला तर्न कठिन छ । फुगाड खोला तर्न नसक्दा साना जिप र मोटर साइकल रोकिने गरेका छन् । खोलामा पुल नहुँदा दुःख पाइएको स्थानीयको गुनासो छ ।
‘गाडी तर्ने पुल त परको कुरा हो’, पचालझरना ४ राम्नाकोटकी सुमित्रा बमले भनिन् ‘पैदलयात्रीलाई तर्ने झोलुङ्गे पुल पनि छैन । खोला बढेको बेला तर्नै सकिँदैन ।’ उनले पैदल यात्रुले खोला तर्नकै लागि ३ घण्टा उकालो ओरालो फुकोट गाउँको झोलुङ्गे पुल तर्न जानुपर्ने बाध्यता रहेको गुनासो पोखिन् ।
फुगाड खोला तर्न नसकेर स्थानीय घुमाउरो बाटो हुँदै हिँड्न बाध्य भएको पचालझरना घर भएकी जिल्ला समन्वय समिति उप प्रमुख मिना रावत विकले गुनासो पोखिन् । ‘वर्षाको बेला करिडोर नै बन्द हुन्छ,’ उनले भनिन्, ‘सरकारले हुम्ला गाडी पुग्यो भनेर प्रचार गरे पनि कालिकोटको फुगाड खोलामा सधैं सडक अवरुद्ध हुन्छ ।’
७ वर्षअघि बाढीले बगाएको पुल अझैं नबन्नु दुःखद भएको जनाउँदै नागरिक समाजका अगुवा तथा सञ्चार उद्यमी रत्न कार्कीले खोला वारपार गर्न तत्काल विकल्प खोज्नु पर्ने बताए । पैदल यात्रीको लागि खोला तार्ने तालिम प्राप्त जनशक्ति र उपकरण डोरी, लाइफ ज्याकेट, बुटको व्यवस्था गरेर सहज बनाउन सकिन्छ । उनले भने राज्यको ध्यान जानु जरुरी छ ।
यसैबीच कर्णाली करिडोरको फुगाड खोलामा पुल नहुँदा नागरिकले सास्ती पाएको भन्दै कालिकोटका स्थानीयले बुधबार प्रजिअ नारायण प्रसाद भट्टराईको ध्यानाकर्षण गरे । फुगाडमा पुल नहुँदा नागरिकलाई सास्ती भएको छ ।
फुगाड खोलामा तत्काल यात्रुलाई आवतजावत गर्ने व्यवस्था मिलाउन आफूले सडक डिभिजन कार्यालय हुम्ला र बाजुराको पीलुचौरका प्रमुखलाई जानकारी गराएको सुनाउँदै प्रजिअ भट्टराईले सडक विभागका महानिर्देशक सँग कुरा गरेर निकास खोजिने प्रतिबद्धता जनाए ।
