चट्याङले घाइते रावतको आठ घण्टापछि उद्धार

असार २४, २०८२

डीबी बुढा

Rescue of Rawat injured by lightning after eight hours

जुम्ला — जुम्लाको गुठीचौर गाउँपालिका ५ स्थित ठूला हाँक पाटनमा चट्याङ लागेर घाइते भएका सिँजा गाउँपालिका–६ का धनबहादुर रावतको आठ घण्टापछि घटनास्थलबाट उद्धार गरिएको छ ।

सोमबार बेलुकी ८ बजे जिल्ला सदरमुकाम खलंगादेखि हिँडेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली बिहान ५ बजे मात्रै घटनास्थलमा पुगेको थियो । प्रहरी प्रमुख डिएसपी रबिनबाबु रेग्मीले प्रहरी टोली घटनास्थलमा पुगेपछि उनलाई स्टेचरमा राखेर सदरमुकामतर्फ ल्याइँदै गरेको जानकारी दिए । 

फोन नलाग्न भएका कारण अरु विवरणहरु आइनसकेको उनको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले प्रहरी र स्थानीयको टोलीले घाइते रावतलाई स्टेचरमा राखेर ल्याउँदै गरेको र उनको अवस्था ठिकै रहेको जानकारी दिए । 

यस्तै अहिलेसम्मको अनुमानअनुसार २ सय बढी भेडा मरेको उनले बताए । उनका अनुसार उद्धारका लागि गएका प्रहरीमध्ये केही त्यहिँ बसेर क्षतिको विवरण संकलन गरिरहेका छन् । उद्धार टोलीमा रावतका आफन्तहरु पनि गएका छन् । 

नेपाली सेनाको स्वास्थ्यकर्मीको टोली एम्बुलेन्स लिएर गुठीचौरको गाडी जाने ठाउँसम्म पुगेर कुरिरहेको छ । सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले उद्धारका लागि हेलिकप्टरका लागि अनुरोध गरे पनि मौसममा खराबी र ढिलो भएको भन्दै सम्बन्धित निकायबाट सहयोग नभएको गुनासो गरे । 

सोमबार अपरान्ह ४ बजे पाटनमा चरिरहेका भेडाको बथानको बीचमै चट्याङ परेको थियो । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully