पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन

निर्माण सामग्री र खाद्यान्न बोकेका ट्रक ३ दिनदेखि बाटोमै रोकिए

असार २२, २०८२

तुलाराम पाण्डे

The Karnali highway blocked by landslides is still not open

कालीकोट — कालीकोटको गाल्जेमा पहिरोले सडक मुनिको पर्खाल भत्काउँदा अवरुद्ध भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड अझै खुल्न सकेको छैन । साना गाडीलाई पास दिने साँघुरो ट्य्राक बने पनि ठूला यात्रुवाहक बस, निर्माण सामग्री र खाद्यान्न बोकेका ट्रक ३ दिनदेखि बाटोमै रोकिएका छन् ।

तीन साताअघि पनि सोही ठाउँमा पहिरो गएपछि सडक डिभिजन कार्यालय जुम्लाले पर्खाल बनाएर सञ्चालनमा ल्याएको सडक पुनः भत्किएपछि ठूला गाडी रोकिएका कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए। 'भित्तातिर पूरै चट्टान छ,' उनले भने, 'बाटोमुनिबाट उठाएको पर्खाल पूरै भत्किएको छ।' उनका अनुसार चट्टान फुटाउने क्रममा जेसीभी मेसिनको हाइड्रोलिक पाइप फुटेका कारण शनिबारदेखि काम रोकिएको हो ।

ठूलो मेसिन सुर्खेतबाट आउँदै गरेको जानकारी दिँदै उनले मेसिन पुगेपछि माथिल्लो चट्टान फुटाएपछि मात्र सडक खुल्ने बताए । 'काम कहिले सकिएर सडक खुल्छ भन्ने निश्चित छैन,' उनले भने, 'साना गाडी मात्र एकतर्फी पास हुने गरेका छन्।'

आर्थिक वर्ष सकिन लाग्दा जुम्ला र मुगुका लागि निर्माण सामग्री बोकेका ट्रक कालीकोटको ताडी, बालीलगायत ठाउँमा रोकिएको व्यवसायी रतन महताराले बताए । 'सामान छिटो चाहियो भनेर निर्माण साइटबाट फोन आएको आयै छ,' उनले भने, 'सडक बन्द छ, कसरी जाने?'

जुम्ला र मुगुका लागि खाद्यान्न बोकेका ट्रक पनि बाटोमै रोकिएको ट्रक चालक नवीन विश्वकर्माले जानकारी दिए । वर्षाको पानीसहित जुविथा जिउलोको पानीले गाल्जेनजिकैको भिरमा पहिरो गएको हो । साँघुरो सडकमा पर्खाल खसेकाले सयौं मालवाहक गाडी रोकिएका छ न्। साना गाडी भने पास भइरहेका छन् ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले ठूला गाडी जान सक्ने अवस्था नरहेको बताए । उनका अनुसार सडक डिभिजन कार्यालय जुम्लाको टोली मेसिनसहित पहिरो गएको स्थानमा काम गर्न पठाइसकिएको छ ।

बिहीबारदेखि गाडी रोकिएकाले मालवाहक ट्रकका चालक, सहचालक र यात्रुले कच्ची पर्खाल लगाउने प्रयास गरेका थिए, तर सम्भव नभएपछि चट्टान फुटाउन ब्रेकर झिकिएको अस्थायी ट्राफिक पोस्ट खल्लागाडका प्रहरी हवल्दार चन्द्रबहादुर घर्तीले बताए । 'साना गाडी त पठाइरहेका छौं,' उनले भने, 'बस र मालवाहक गाडी भने रोकिएका छन् ।' सडक अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला, मुगु जाने तथा जुम्ला, मुगुबाट कालीकोट, दैलेख हुँदै सुर्खेत फर्कने गाडी रोकिएको प्रहरीले जनाएको छ ।

कर्णाली राजमार्ग वर्षा लागेपछि पहिरोले अवरुद्ध हुने समस्याले सास्ती हुने गरेको मान्म बजारका उद्यमी बबुर शाहीले गुनासो गरे । 'सडक गतिलो नहुँदा जहिल्यै दुःख पाइन्छ,' उनले भने, 'वर्षा लागे पहिरो र हिलो, हिउँद लागे धूलो-यात्रा गर्दा सास्ती पाइन्छ।'

कुल २३३ किलोमिटर लम्बाइ भएको कर्णाली राजमार्गको नाग्मा–जुम्ला खण्डमा सडक राम्रो भए पनि त्यसभन्दा तलको कालीकोट र दैलेख खण्डमा हिलो र धूलोको समस्या हुने गरेको छ ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully