डोल्पाको अन्नपूर्ण माविका प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

असार २२, २०८२

रामचन्द्र न्यौपाने

Corruption case against 14 people including the principal of Annapurna Mavi in ​​Dolpa

डोल्पा — डोल्पाको अन्नपूर्ण माध्यमिक विद्यालयमा सार्वजनिक खरिद प्रक्रियामा करिब ३० लाख रुपैयाँ बराबर अनियमितता गरेको अभियोगमा प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्तिलाई हानि नोक्सानी पुर्‍याइएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागसहित २९ लाख ६० हजार ६ सय ९२ रुपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालत काठमाडौंमा आइतबार आरोपपत्र दायर गरेको हो ।

डोल्पाको मुड्केचुला गाउँपालिका–७ मा अवस्थित अन्नपूर्ण माविले आर्थिक वर्ष २०७९/८० मा ई-बीडिङ प्रक्रिया मार्फत बोलपत्र आह्वान गरेको थियो। मूल्याङ्कनका क्रममा सार्वजनिक खरिद ऐन, शिक्षा ऐन तथा सम्बन्धित नियमावलीको मर्म विपरीत निर्णय गरी गर्दै विद्यालयमै कार्यरत शिक्षिकाको नाममा रहेको निर्माण कम्पनीलाई ठेक्का दिइएको आयोगले आरोपपत्रमा दायर गरेको छ ।

आयोगका अनुसार उक्त कम्पनीले मूल्याङ्कनमा चौथो स्थानमा रहेर पनि बोलपत्र प्राप्त गरेको थियो भने सबैभन्दा कम कबोल अङ्क (भ्याट बाहेक) ४९ लाख ८३ हजार ३ सय ९४ रुपैयाँ रहेको महातारा निर्माण सेवालाई ‘साइट भिजिट नभएको’ भन्दै अयोग्य ठहर गरेर प्रतिस्पर्धात्मक प्रक्रियालाई खारेज गरेको देखिन्छ ।

दिग्दर्शन निर्माण सेवाले ७९ लाख ४४ हजार ८७ रुपियाँ भुक्तानी पाएकोमा महातारा निर्माण सेवाको कबोल अङ्कबाट तुलना गर्दा २९ लाख ६० हजार ६९२ रुपैयाँ बराबरको हानी विद्यालयलाई भएको आयोगको निष्कर्ष छ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully