कालिकोट — आमाबुबा दुवै नभएका ४ बालबालिकालाई शैक्षिक तथा जीविकोपार्जन सहयोग भएको छ ।
जिल्लाको तिलागुफा र रास्कोट नगरपालिका, महाबै र पचालझरना गाउँ पालिकाबाट छनोट भएका अभिभावकविहीन बालबालिकालाई सामाजिक विकास कार्यालय कालिकोटले प्रतिव्यक्ति ३० हजारका दरले शैक्षिक तथा जीविकोपर्जन सहयोग गरेको सामाजिक विकास अधिकृत रछाने लोहारले बताए ।
आमाबुवा दुवै नभएका अति जोखिममा रहेका ४ जना बालबालिकालाई स्थानीय तहले गरेको सिफारिसका आधारमा जिल्ला स्तरीय समन्वय समितिले छनोट गरेर सहयोग गरेको उनको भनाइ छ ।
सहयोग पाउने सबै बालबालिका अति जोखिम परिवारका रहेको प्रजिअ नारायण प्रसाद भट्टराईले बताए । छनोट भएका बालबालिकामध्य तिलागुफा २ रताडाकी ९ वर्षीया सुनिताकी ३३ वर्षीया आमा पदमी बोहोराको तीन वर्षअघि प्रेसरका कारण मृत्यु भएको थियो । पत्नीको मृत्युको खबर सुनेर ज्याला मजदुरीका लागि भारतको केदारनाथ गएका ३४ वर्षीय सुनिताका बुवा दीपक कमाएको पैसासहित घर आउने भनेर त्यताबाट हिँडेको ३ वर्षदेखि बेपत्ता छन् । जेठी सुनितासहित ६ वर्षीया कल्पना र ४ वर्षीया कमला वृद्ध बाजेबजैको सहारामा छन् ।
६७ वर्षीय बाजे अनिपालले कान्तिपुरसँग भने, 'छोराबुहारी दुवै नहुँदा नाबालक नातिनी हुर्काउन निकै कठिन छ ।' पाखो बारीको उब्जनीले ३ महिना खान नपुग्ने बोहोराको परिवारलाई बिहान बेलुकीको छाक टार्न कठिनाइ छ । 'अरु ४ छोरा त छन् । भएर के गर्नु ? सबै छुट्टिएर अलग अलग छन् । कसैले हेर्दैनन्,' उनले भने, 'बुढेसकाल लाग्यो, काम गर्न सकिँदैन ।'
सामाजिक विकास कार्यालयले आमाबाबुविहीन बालबालिकालाई सहयोग दिने भएपछि सदरमुकाम मान्म आएका बोहोराले नातिनीका लागि १० हजार मूल्यको झोला, ड्रेस, कापी कलम र आतेजाते गाडीभाडासहित जीविकोपार्जनका लागि २० हजार नगद पाएर खुसी छन् । सुनिता स्थानीय दुर्गा मावि रताडामा कक्षा ४ मा पढ्छिन् भने उनका बहिनीहरू बालविकास र २ कक्षामा छन् । सहयोग पाएपछि सबै नातिनीलाई आफ्नो सास रहुन्जेल पढाइदिने वृद्ध अनिपालको प्रतिबद्धता छ ।
महाबै ७ राम्नीका १५ वर्षीय धीरेन्द्र दमाईका बुवा जुद्धको ११ वर्षअघि भीरबाट लडेर ज्यान गयो । उनकी आमा भवि दमाईको ०७८ को जेठमा कोरोनाले मृत्यु भयो । धीरेन्द्रका अरु साना दुई भाइ पनि छन् । ६२ वर्षीय धीरेन्द्रका बाजे बिर्के दमाई गाउँमा बाजा बजाउने र ज्याला मजदुरी गरेर ३ नाति हुर्काइरहेका छन् । 'बुढी पनि ९ वर्ष पहिल्यै बिती,' बिर्केले दुःख पोखे, 'राडो (पत्नी मरेको बिदुर) बाजेले ३ नाति पालेको छु । कहिले खान्छौं, कहिले भोकै ढुल्छौं (सुत्छौ) ।' उनका नाति धीरेन्द्र कक्षा १० मा राम माविमा पढ्छन् भने अरू दुईलाई पनि विद्यालय भर्ना गरेका छन् । उनले पनि शुक्रबार मान्मस्थित सामाजिक विकास कार्यालयबाट २० हजार नगद र १० हजारको जिन्सी समान पाए ।
त्यस्तै अवस्था छ, रास्कोट-९ का आर्यन टमटाको छ । ७ वर्षीय आर्यनका पनि आमाबुवा छैनन् भने पचाल झरना-५ बाँझकोटका ९ वर्षीय महेश बमका बुबा प्रेमबहादुर बम बेपत्ता छन् । आमाले दोर्सो बिहे गरिन्। उनी काका नौलाराज बमको संरक्षणमा छन् ।
सहयोग पाएका सबै संरक्षकले पाएको सहयोग बालबालिकाकै लागि खर्च गर्ने प्रतिबद्धता गरेको सामाजिक विकास कार्यालयका सुब्बा नविना रोक्का मगरले बताइन्।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले बाल संरक्षण तथा जिविकोपार्जन कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेर कालिकोट पठाएपछि ४ जना बालबालिकालाई सहयोग गरिएको हो ।
कालिकोटमा आबाबाबु दुबै नभएका ३ सय ६७ र आमाबाबु मध्ये कुनै एक नभएका १ हजार ९ सय बालबालिका भए पनि ४ जनालाई मात्र न्यून सहयोग भएकोले सख्या र रकम थप गर्नुपर्ने नागरिक अगुवा रमेश नेपालीले बताए ।
