रुकुम पश्चिम — जबरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिममा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) का नेता पक्राउ परेका छन् ।
जाजरकोटकी १७ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा चौरजहारी नगरपालिका–४ का ३० वर्षीय रेशम खत्री पक्राउ परेको प्रहरीले जनाएको छ ।
सानीभेरी गाउँपालिका–२ स्थित एक होटलबाट गएराति खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टले जानकारी दिए । ‘उनीमाथि १७ वर्षकी एक किशोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा हामीले पक्राउ गरेका हौं,’ उनले भने, ‘पीडित किशोरीले गत जेठ १८ गते कार्यालयमा जाहेरी दिएकी थिइन् । तर आरोपित खत्री फरार थिए । गोप्य सूचनाका आधारमा हिजो उनलाई पक्राउ गरिएको छ ।’
उनलाई आजै रुकुम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
आरोपित खत्री वाईसीएलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी इन्चार्ज हुन् । उनी चौरजहारी नगर खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका छन् ।
