सल्यानमा उच्च जोखिमका बस्ती स्थानान्तरण भएनन्, सयभन्दा बढी बस्ती जोखिममा

असार १२, २०८२

विप्लव महर्जन

High-risk settlements in Salyan were not relocated, more than 100 settlements are at risk

काठमाडौँ — केही दिन अघिदेखि परेको वर्षाका कारण शारदा नगरपालिका-१२ रेशमखोलामा आएको बाढीले रेसमज्युला बस्तीमा रहेको वर्कसप र मर्मतका लागि राखिएको बोलेरो जिप आधा पुरियो । बाढीले त्यहाँका अन्य सामग्री पनि बगाएर लग्यो ।

बाढीका कारण मूलडाँडाका रहेको शिव माविसहित दर्जन घर जोखिममा परे । सोही दिन शारदा नगरपालिका-१ भगवती खोलामा आएको बाढीले श्रीनगर बजार छेवैमा रहेका चार घर र एक पसलमा क्षति पुग्यो । कपुरकोट गाउँपालिकाको मुख्य बजार त विगतदेखि नै नजिकको खारा पहिरोका कारण उच्च जोखिममा परेको छ । पहिरोले अहिलेसम्म आधा दर्जन  घर बगाइसकेको छ । दर्जन सर्वसाधारणको घर चर्किएको छ भने दुई दर्जन घर उच्च जोखिममा छन् । स्थानीय बासिन्दा अहिले पनि त्यही चर्केको घरमा जोखिम मोलेर बस्दै आएका छन् । 

यी दुई बस्ती मात्र नभई जिल्लाका १० स्थानीय तहमा सयभन्दा बढी बस्ती बाढी, पहिरो र डुबानको जोखिममा छन् । जसका कारण ४ हजार परिवार प्रभावित भएका छन् । तथ्यांकअनुसार बाढीबाट जिल्लाका १० स्थानीय तहका १९ , पहिरोबाट ७३ र डुबानका कारण ११ बस्ती जोखिममा छन् । तीमध्ये ३५ बस्ती उच्च जोखिममा रहेका छन् । उच्च जोखिममा परेका बस्ती अहिलेसम्म सम्बन्धित निकायले स्थानान्तरण गर्न सकेका छैनन् । 

बाढी, पहिरो र डुबानबाट शारदा नगरपालिकाभित्र श्रीनगर बजार, शान्तिनगर, रेसमज्युला, रामेखोला, ज्वालापुर , खैराबाङ, स्यानीखाल, बन्गाडकुपिण्डे नगरपालिकाका गैरीबजार, नाथेखोला, गर्चे, रैकर, बाङ्गेरह, मैनेनी, र्‍याले, कोटभीर, निगालचुला , भदाले, चिसापानी, बाबियाचौर जोखिममा छन् । बाग्चौर नगरपालिकाका दोभानबजार , सिमखोली, परिलेख, मौरीघारे, धामीढुंगा, कुइयापानी, रातामाटा बाफुखोला, ओखरेनी, जोरपानी, अँधेरी, चिसापानी, तरुलेखोली, जमरा, भयारनाथ, त्रिवेणी गाउँपालिकाका रिखेबजार, ढुंगीबगर, लुहामबजार, अखेला, कालापोखरा, चोरखोला, थकलेनी,टाटके, कैनेपानी, रावतगाउँ , सिम्क, टुनिबोट, डाँडागाउँ, डाडासल्ले, श्रीचवर जोखिम क्षेत्र हुन् ।

कपुरकोट गाउँपालिकाभित्रका गैरीबाङ, सिमलकुना, दानबाङ, कपुरकोट बजार, चोरखोला, फलाटे, मुलपानी, दहवन, सिन्दुरी, सल्लाम, छत्रेश्वरी गाउँपालिकाका लान्तीबजार, सांघार, चामे, चोरपाटा, सल्लेरी, साधनचौर प्राकृतिक विपद्को जोखिममा छन् । कालिमाटी गाउँपालिकाका खैरेनी जम्मुखोला, पाखापानी, कालाखोला, गणेशज्युला , किचने खोला, खारखोला जलजला, बाटुले, र्‍याङ, कुमाख गाउँपालिकाका स्यानीपिप्ली, खोलाखेत, च्याउखोला, त्वालधारी, झारकाँडा, जिउली, खारखोला, शान्तिबजार, सिद्धकुमाख गाउँपालिकाका सिमखोली, भडारे, फलाटे, सुरेली, दुबेरीचौर र दार्मा गाउँपालिकामा फारुला बजारलगायत वडा नं २,३ र ४ का बस्ती जोखिममा छन् ।

बाढी,पहिरो र डुबानबाट बस्ती जोगाउनका लागि विगतदेखि सम्बन्धित निकायले खोला, पहिरो गएको स्थानमा बाँध निर्माण, पक्की पर्खाल तथा वृक्षारोपण कार्यक्रम गर्दै आएका छन् तर त्यसको प्रभाव त्यत्ति परेको छैन । बाढी, पहिरोले बेलाबेलामा क्षति पुर्‍याउने गरिरहेको छ । बाढी, पहिरोले जिल्लाका दर्जनौं घर बगाइसकेको छ भने धेरैले ज्यान गुमाइसकेका छन् । स्थानीय तह तथा विकासे कार्यालयले बस्तीका घरघरमा सडक पुर्‍याउने भन्दै डोजर प्रयोग गरेर जथाभावी खनेका सडक, जथाभावी ढुंगा, गिटी ,बालुवा उत्खननले गर्दा बस्ती जोखिममा परेका हुन् । 

विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले विपद् प्रतिकार्य भइरहेको बताए । उनले जिल्लाका सबै पालिका र रेडक्रससँग बसेर छलफल चलिरहेको र विगतमा बस्ती आसपासमा भएको बाढी, पहिरोको क्षतिबाट सबैलाई बचाउन तारजाली लगाउने काम भने भइरहेको उनले जानकारी गराए । विपद्‍बाट सर्वसाधारणलाई बचाउन सचेतनामूलक कार्यक्रम पनि भइरहेको उनको भनाइ छ । 

High-risk settlements in Salyan were not relocated, more than 100 settlements are at risk

सडक खन्दा र रुखबिरुवा मास्दा भएको भू–क्षयका कारण सल्यानका धेरै स्थानमा पहिरो गएको र गत वर्षको तथ्यांकअनुसार ९० स्थानका १ सय २६ हेक्टर क्षेत्रफलमा पहिरो गएको भू तथा जलाधार कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईले बताए । संघीयतापश्चात् सरकारले भू–संरक्षण कार्यालय जिल्ला-जिल्लाबाट हटाएर प्रदेशमा सीमित गरेपछि सल्यानमा पहिरो नियन्त्रणसम्बन्धी धेरै काम गर्न नसके पनि सरकारले तोकेको स्थानमा पहिरो तथा बाढी नियन्त्रणको काम भइरहेको उनले जानकारी गराए । आउँदो वर्षदेखि पहिरो नियन्त्रणसम्बन्धी सल्यानका दुई पालिकामा काम हुने उनको भनाइ छ । 

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले पालिकाभित्र दर्जन बस्ती पहिरोको जोखिममा भए पनि सबैभन्दा उच्च जोखिममा कपुरकोट बजार र सल्लाम रहेको बताए । सल्लामका केही घर परिवार स्थानान्तरण गर्न सफल भए पनि कपुरकोट बजारका स्थानीयलाई स्थानान्तरण गर्न नसकिएको उनको भनाइ छ । ‘पहिरो नियन्त्रणका लागि पालिकाले सक्ने खालका बाँध निर्माण, तारजाली लगाउने, वृक्षारोपण गरिरहेको छ । विगतमा संघीय बजेट पनि खारा पहिरो नियन्त्रणका धेरै काम भए । प्रत्येक वर्ष हुने बर्सातपछिको पहिरोले बाँध, तारजाली बगाउने गर्दा समस्या अहिले पनि जहाँको त्यहीँ छ,’ उनले भने, 'स्थानीयलाई स्थानान्तरण गर्न सकिएको छैन । अहिले पनि केही परिवार चर्किएको घरमा बस्न बाध्य छन् ।’ खारा पहिरो नियन्त्रणका लागि धेरै बजेट लाग्ने भएकाले प्रदेश तथा संघमा माग गरेको उनको भनाइ छ । 

कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले पालिकाभित्रका केही बस्ती पहिरो, बाढी र डुबानको जोखिममा परे पनि दुई दशकअघि वडा नं ६ मा पहिरोका कारण घरले च्यापिएर एकै घरका पाँच जनाको मृत्यु भएपनि पछिल्लो समयमा त्यस्तो ठूलो घटना नघटेको बताए । सम्बन्धित निकायको पहलमा खोला तथा पहिरो गएको स्थानमा तारजाली लगाएपछि बस्ती स्थानान्तरणसमेत गर्न नपरेको उनले जानकारी गराए । 

बाग्चौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले पालिकाको वडा नं ४, ९ र १२ का बस्ती सबैभन्दा बढी पहिरो जोखिममा परेको बताए । सबै भनन्दा जोखिममा रहेको बाफुखोलाको दोभान बजार खोलाको कटान, डुबानबाट बचाउन तारजाली लगाइएको उनले जानकारी गराए । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully