कालिकोट — कालिकोटका ६ वटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ। ६ वटा गाउँपालिका र ३ वटा नगरपालिका रहेको कालिकोटमा मंगलबार रास्कोट नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ।
यसअघि महाबै, शुभकालीका, नरहरिनाथ, सान्नी त्रिवेणी र पचाल झरना गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.भीष्म प्रसाद पोखरेलले बताए । उनका अनुसार खाँडाचक्र, तिलागुफा नगरपालिका र पलाता गाउँपालिका गरी ३ वटा स्थानीयलाई यसै साता घोषणा गर्ने तयारी छ।
मंगलबार रास्कोट नगरपालिकामा आयोजित घोषणा सभामा बोल्दै नगर प्रमुख धर्मराज शाहीले खोप बालबालिकाको जीवन रक्षा गर्ने प्रमुख माध्यम भएकाले टोल टोलमा स्वास्थ्यकर्मी परिचालन गरी खोज र खोप अभियान चलाइएको बताए ।
'नागरिकको स्वास्थ्यप्रति नगर सरकार सचेत छ,' उनले भने, 'पालिकाको बजेट पनि शिक्षा र स्वास्थ्य केन्द्रित गरेका छौँ।' स्वास्थ्य सेवा कार्यालयका जनस्वाथ्य अधिकृत कटक महतले पूर्ण खोप दिगोपना सुनिश्चितता अभियानले स्वास्थ्यको प्रणाली सुधार, दिगो विकासमा योगदान, मातृ तथा शिशु स्वास्थ्यमा सहयोग पुग्ने बताए।
१६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्र पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिने उनले बताए ।
