सल्यान — सल्यानका १० स्थानीय तहमध्ये नौ स्थानीय तहले ५ अर्ब १६ करोड १३ लाखको बजेट ल्याएका छन्। जिल्लाको शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, कपुरकोट, त्रिवेणी, कालिमाटी, सिद्धकुमाख, दार्मा, कुमाख र छत्रेश्वरी गाउँपालिकाले बजेट ल्याएका हुन्।
जिल्लाको शारदा नगरपालिकाले १ अर्ब १९ करोड, बन्गाड कुपिण्डे नगरपालिकाले ७९ करोड, कपुरकोटले ४२ करोड ६८ लाख, त्रिवेणीले ४५ करोड ८४ लाख, दार्माले ४४ करोड ९२ लाख, कालिमाटीले ४३ करोड, छत्रेश्वरीले ५२ करोड ५३ लाख, कुमाखले ४९ करोड ९३ लाख र सिद्धकुमाख गाउँपालिकाले ३५ करोड ३७ लाखको बजेट ल्याएका छन्।
बागचौर नगरपालिकाले नीति तथा कार्यक्रम सम्पन्न गरिसके पनि तोकेको समयमा बजेट भने ल्याउन सकेको छैन। पालिकाले यो साता भित्रै बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।
बजेट ल्याएका आठ स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सडक तथा पूर्वाधारलाई प्राथमिकता दिएका छन्। यता शारदा नगरपालिकाले ‘एक घर एक धारा’ जडान गर्ने उद्देश्यका साथ खानेपानीलाई बढी प्राथमिकता दिएको छ। पालिकाले खानेपानीका लागि मात्र ४० करोड विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताएका छन्। खानेपानी लगायत शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई पनि प्राथमिकता दिएको उनले जानकारी गराए।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले कृषि र पशुपालनलाई बढी प्राथमिकता दिएको बताए। पालिकावासीको आयआर्जनको मुख्य स्रोत कृषि र पशुपालन भएकाले यसलाई थप व्यवस्थित गर्न प्राथमिकता दिएको उनले जानकारी गराए। कृषि र पशुपालनपछि पालिकाले शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको उनको भनाइ छ।
यता बन्गाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले भने सडक, भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्यलाई बढी प्राथमिकता दिएको बताएका छन्। बागचौर नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले नीति तथा कार्यक्रम सार्वजनिक गरेको पालिकाले यही साता भित्र बजेट पनि ल्याउने बताए। नीति तथा कार्यक्रमले यो वर्ष शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई विशेष प्राथमिकता दिएको उनले जानकारी गराए।
