कर्णालीमा सबैजसो स्थानीय तहले ल्याए बजेट

असार १०, २०८२

कृष्णप्रसाद गौतम

In Karnali, all the local levels brought the budget

सुर्खेत — कर्णालीका सबैजसो स्थानीय तहले यो वर्ष आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएका छन् ।

कर्णालीका ७९ मध्ये ११ स्थानीय तहले यसअघि नै बजेट ल्याएका थिए भने मंगलबार अरु पालिकाले बजेट ल्याएका हुन् भने ४ स्थानीय तहमा मंगलबार रातिसम्म बजेट ल्याउने तयारी छ ।  

सुर्खेतका ९ वटै स्थानीय तहले मंगलबार झण्डै ९ करोडको बजेट ल्याएका छन् । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ४ अर्ब ३८ करोड रुपैयाँको बजेट ल्याएको छ भने सबैभन्दा कम चिन्गाडको ४० करोडको बजेट ल्याएको छ ।

दैलेखका ११ वटै स्थानीय तहले मंगलबार बजेट ल्याएका छन् । दैलेखमा दुल्लुले १ अर्ब ८ करोड ८१ लाखको बजेट ल्याएको छ भने अन्य स्थानीय तहले ४१ करोडदेखि ७३ करोडसम्मको बजेट ल्याएका छन् । जुम्लाका ८ वटै स्थानीय तहमा पनि समयमै बजेट आएको छ । चन्दननाथले ६१ करोडको बजेट ल्याएको छ भने सबैभन्दा कम गुठीचौरले ३४ करोडको बजेट ल्याएको छ । 

सल्यानका १० स्थानीय तहमध्ये शारदाले १ अर्ब १९ करोडको बजेट ल्याएको छ । बाग्चौर, बन्गाडकुपिण्डे र कुमाख गाउँपालिकामा मंगलबार ७ बजेसम्म बजेट आउन सकेको छैन । जनप्रतिनिधिहरुबीच नै विवाद भएपछि ती पालिकामा रातिसम्म बजेट ल्याउनेगरी छलफल भइरहेको छ । कालीकोटका ९ वटै पालिकामा यसपालि बजेट आएको छ ।

जाजरकोटमा सबै पालिकाले बजेट ल्याए पनि नलगाड नगरपालिकाले मंगलबार अबेरसम्म बजेट ल्याउन सकेका छैन । उपप्रमुख देवका लामिछानेले मंगलबार बजेट ल्याउन नसके पनि बुधबार बिहानसम्म बजेट आउने बताइन् ।

रुकुम पश्चिम, मुगु, डोल्पा र हुम्लाका स्थानीय तहले पनि यो वर्ष समयमै बजेट ल्याएका छन् ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully