जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिकाले गाउँ बस्ती हुँदै छानिएर आएका योजनालाई प्राथमिकतामा राखेको छ। सोमबारदेखि सुरु भएको १५ औँ अधिवेशनमा बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै कनकासुन्दरीले मागभन्दा पनि आवश्यकताका आधारमा गाउँ बस्तीदेखि छानिएर आएका योजनाहरू प्राथमिकतामा राखेको जनाएको हो ।
कनकासुन्दरीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४९ करोड ७१ लाख ७३ हजार ९ सय ९६ रुपैयाँको बजेट ल्याएको हो ।
बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान तर्फ १० करोड १ लाख,सशर्त पूाजीगत अनुदान २ करोड ७० लाख,सशर्त चालु अनुदान १६ करोड ३० लाख र विशेष अनुदान १ करोड ७८ लाख रुपैयाँ रहेको जनाइएको छ ।
राजश्व बाँडफाँड तर्फ ९ करोड १९ लाख ८४ हजार रुपैयाँ आएको छ । प्रदेश सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान १ करोड २५ लाख ४९ हजार, सशर्त अनुदान २ करोड ३२ लाख ६९ हजार, राजश्व बाँडफाँडमा ७ लाख बजेट छ ।
कनकासुन्दरीले आगामी वर्षमा ३२ लाख आन्तरिक राजश्व संकलन हुने अनुमान गरेको छ । आन्तरिक स्रोतबाट ४ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ । गैरसरकारी संस्थामा आइएनएफले १७ लाख ८६ हजार ८ सय ६५ रुपैयाँ र क्याड नेपालले ९२ लाख ८५ हजार रुपैयाँको बजेट पेस गरेको समेत बजेट वक्तव्यमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले आगामी वर्षको बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अहिले डल्लो बजेट प्रस्तुत भयो,अध्यक्ष आचार्यले भने, ‘बजेट माथिको छलफल पछि शाखागत रूपमा बजेट विनियोजन हुनेछ ।’
आगामी बजेटमा पहुँचविहीन नागरिकका माग सम्बोधन हुने गरेर बजेट ल्याउने प्रयास भएको अध्यक्ष आचार्यले बताए। उनले भने, ‘गाउँबस्तीबाछ छनौटमा परेका योजनालाई विशेष प्राथमिकता दिइएको छ ।’
