अवस्था बदल्ने जिम्मेवारी युवाको काँधमा : मुख्यमन्त्री कँडेल

असार ६, २०८२

तृप्ति शाही

The responsibility of changing the situation is on the shoulders of the youth: Chief Minister Kandel

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अवस्था बदल्ने जिम्मेवारी युवाको काँधमा भएको बताएका छन् । राष्ट्रिय युवा परिषद् नेपालले शुक्रबार कर्णाली प्रदेशमा आयोजना गरेको 'युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन-२०८२'लाई सम्बोधन गर्दै उनले कर्णालीको सामाजिक, आर्थिक र संरचनागत अवस्था परिवर्तन गर्ने दायित्व युवाको काँधमा रहेको बताए । समृद्ध कर्णालीको सम्भावना युवाहरूकै पालामा रहेको उनको भनाइ थियो । 

'आजका युवामा ज्ञान, सोच र सीप भरिपूर्ण छ,' उनले भने,'अब आत्मविश्वास र नेतृत्वदायी भूमिका जगाउन सक्नुपर्छ । अहिलेको समय हिजोको भन्दा सजिलो र अनुकूल छ । कर्णाली प्रकृति हिसाबले भरिपूर्ण छ । यसलाई सदुपयोग गर्न सके युवा पुस्ताको भविष्य उज्यालो हुनेछ ।'

श्रमलाई सम्मान गर्ने संस्कार निर्माण गर्नुपर्नेमा उनको जोड दिए । कर्णाली सरकारले उद्यमशील युवा, कृषक तथा पर्यटन व्यवसायीका लागि सहुलियत कार्यक्रम ल्याउन नीति लिएको जानकारी दिए । सरकार कृषि, पर्यटन र लघु उद्योगलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने मुख्यमन्त्री कँडेलले बताए । 

विदेशबाट फर्किएका युवाको सीप र अनुभवलाई उत्पादनसँग जोड्न सरकार तयार रहेको उनको भनाइ थियो । उनले भने,'युवाहरूलाई गाउँमा आएको विकासको हिसाब राख्नपर्छ । विचार व्यवहारबाट नेतृत्व देखाउन जरूरी छ । युवाहरूले निराशा होइन आशा बाँड्ने भूमिका निर्वाह गर्नपर्छ ।'

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully