कोपिला भ्याली स्कुल विश्वका शीर्ष १० मा छनोट

असार ५, २०८२

ज्योति कटुवाल

Kopila Valley School selected among the top 10 in the world

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरमा रहेको कोपिला भ्याली स्कूल विश्वका शीर्ष १० मा छनोट भएको छ । कोपिला भ्याली स्कुललाई २०२२ मा कोभिड महामारीपछि सुरु गरिएको टिफो एजुकेशमको पहलमा आधारित पाँच उत्कृष्ट पुरस्कारहरूमध्ये वातावरणीय कार्य श्रेणीमा उत्कृष्ट १० स्थानमा छनोट भएको हो । 

कोपिला भ्याली समाजको अध्यक्ष टोपबहादुर मल्लले यस्तो प्रकारको प्रतियोगितामा नेपालबाट कुनै विद्यालय अन्तिम सूचीमा परेको पहिलो पटक रहेकाले समग्र नेपाली शिक्षा क्षेत्रको प्रतिष्ठा बढाएको बताए । 

पत्रकार सम्मेलनमा बोल्दै मल्लले पाँच विधामा प्रदान गरिने पुरस्कार समुदाय सहकार्य, वातावरणीय कार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता र स्वस्थ जीवनशैलीमा एक विश्व निर्णायक मण्डलले विजेता छनोट गर्ने बताए । 

भोटका लागि आजबाट मतदान सुरु भइसकेको छ । सबै विजेताहरूको घोषणा २०२५ अक्टोबरमा गरिनेछ । विद्यालयका प्रिन्सिपल राजन कार्कीले चार सय ५० भन्दा बढी विपन्न बालबालिकाहरूलाई शैक्षिक र वातावरणीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले वातावरणीय दिगोपनालाई शिक्षाको अभिन्न अङ्ग बनाउँदै अध्ययन गराइरहेको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully