कालिकोट — घरमा आगलागी हुँदा बिचल्लीमा परेका नरहरिनाथ–६ राताखालका रमाने विश्वकर्माको परिवारलाई यहाँ कार्यक्षेत्र भएका दुई संस्थाले सहयोग गरेका छन् ।
गत शनिबार दिउँसो घरमा आगलागी हुँदा घर, लत्ता कपडा, गरगहना, अन्नपात र १३ घर माहुरी जलेर ८ जनाको परिवारको बिचल्ली भएको थियो ।
आगलागी पीडित परिवारका बालबालिकाहरूलाई राहत स्वरूप दैनिक उपभोग्य सामग्री तथा शैक्षिक सामग्री सहयोग गरिएको सशक्त बालिका परियोजना संयोजक बलिराज शाहीले बताए ।
आगलागीबाट साना बालबालिका बढी प्रभावित भएकोले प्लान इन्टरनेसनल नेपाल र किर्डाक नेपालको साझेदारीमा सञ्चालित 'सशक्त बालिका परियोजना' अन्तर्गत नरहरिनाथ गाउँपालिकाको समन्वयमा पीडितका लागि खाद्यान्न, नुन, तेल, साबुन, कम्बल, डसनालगायत दैनिक जीवनका अत्यावश्यक सामग्री वितरण गरिएको हो ।
त्यस्तै, बालबालिकाहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै स्टेसनरी सामग्री जस्तै कापी, डटपेनलगायतका सामग्रीसमेत प्रदान गरिएको थियो । वितरण गरिएका सामग्रीहरूको मूल्य १० हजार रहेको गाउँपालिका उपाध्यक्ष कमलकुमार शाहले बताए । उपाध्यक्ष शाहको रोहबरमा राहत सामग्री परियोजनाका कार्यक्रम अधिकृत रमिता बटालाले बुधबार हस्तान्तरण गरेकी हुन् ।
