सल्यानमा पुरुष ६ दिनदेखि बेपत्ता 

असार ४, २०८२

विप्लव महर्जन

Man missing for 6 days in Salyan

सल्यान — जिल्लाको कपुरकोट गाउँपालिका-४ धनबाङका ३५ वर्षीय सुरेन्द्र वली ६ दिनदेखि बेपत्ता छन् । शुक्रबार दाङको तुलसीपुर जान्छु भनी घरबाट निस्केका पारिवारिक स्रोतले जनाएको छ । वली बेपत्ता भएपछि परिवारले खोजी गरिदिन प्रहरीलगायत सम्बन्धित निकायमा आग्रह गरेका छन् । उनका श्रीमती र बालबच्चा छन् । 

बिरामी भएर केही महिनाअघिदेखि औषधि सेवन गर्दै आएका श्रीमान् तुलसीपुर जान्छु भनेर हिँडेपछि घर नफर्केको श्रीमती मीना वलीले बताइन् । उनले सबै आफन्तलगायत आसपासका जंगलमा खोजी गर्दा पनि श्रीमान्‌लाई नभेटिएको जानकारी गराइन् । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले परिवारले खोजी गरिदिन भन्दै निवेदन दिएपछि वलीको खोजीका लागि तस्बिर, हुलिया सबै जिल्लाका सबै ईलाका प्रहरी कार्यालयलगायत बाहिर जिल्लासमेत पठाएको बताए । खोजी भइरहे पनि अहिलेसम्म नभेटिएको उनले जानकारी गराए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully