आन्तरिक पर्यटन प्रवर्द्धनको लागि पोखराका होटल व्यवसायीहरु कर्णालीमा

असार १, २०८२

तृप्ति शाही

Pokhara hoteliers in Karnali to promote internal tourism

वीरेन्द्रनगर — पोखराका होटल व्यवसायीहरु कर्णाली पुगेका छन् । कर्णाली र गण्डकी प्रदेशको आन्तरिक पर्यटन प्रवर्द्धनको अभियान लिएर पोखराका होटल व्यवसायीहरू सुर्खेत पुगेका हुन् ।

आन्तरिक पर्यटकमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघ पोखरा ‘जाउँ है पोखरा’ अभियान लिएर कर्णाली पुगेको हो । आन्तरिक पर्यटक नै दिगो पर्यटन विकास भन्ने मूल उदेश्यका साथ घुम्ने बानीको विकास गराउन अभियान लिएर पश्चिम नेपालको यात्रामा निस्किएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । 

‘कर्णाली र गण्डकी प्रदेशको पर्यटकीय सम्भावना केलाउँदै पर्यटकलाई अन्तरप्रदेश आवतजावतमा जोड्नको लागि अभियान गरिरहेका छौं,’ उनले भने ,‘ ‘नेपालीहरूको भ्रमण गर्ने संख्यामा वृद्धि हुँदै गएको छ । विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन् भन्ने मान्यतालाई अनुशरण गर्दै पर्यटनका माध्यमबाट सातै प्रदेश जोड्ने हाम्रो उद्देश्य हो ।’

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा जेठ २९ देखि आगामी असार २ सम्म पश्चिम नेपालका बुटवल, नेपालगन्ज, सुर्खेत र दाङमा अभियान सञ्चालन हुन लागेको उनले बताए । गतवर्षको फागुनमा पूर्वी नेपालका विभिन्न शहरमा अभियान सम्पन्न गरिएको उनले बताए ।

यस क्षेत्रका पर्यटकलाई पोखरा भ्रमण गर्न निमन्त्रणा गर्ने र पोखराबाट समेत पर्यटकलाई पश्चिम ल्याउने र पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष–२०२४ लाई सफल बनाउनसमेत यो अभियानले सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully