सल्यान — वर्षासँगै परेको चटयाङ लागेर सल्यानमा एक महिला घाइते भएकी छन् ।
घर नजिकै परेको चटयाङ लागेर त्रिवेणी गाउँपालिका-१ सागिने घर भएकी २४ वर्षकी आरती पुन घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार घरमा बसिरहेका बेला चटयाङ परेको थियो । घाइते पुनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको उनले बताए ।
यस्तै, कालिमाटी गाउँपालिका-५ दम्दवाली बस्ने पहलसिंह गाहाका चार बाख्रा चट्याङकै कारण मरेका छन् । दुई खसी र दुई बाख्रा मरेका हुन् ।
