स्तरवृद्धिका लागि आइतबारदेखि राप्ती राजमार्ग दैनिक छ घन्टा बन्द 

जेष्ठ २५, २०८२

विप्लव महर्जन

Rapti highway will be closed for six hours daily from Sunday for upgrading

सल्यान — जिल्लाको कपुरकोट गाउँपालिका ३ चोरखोलादेखि राम्री सडक खण्ड स्तरवृद्धि तथा कालोपत्रे गर्नका लागि आइतबारदेखि राप्ती राजमार्ग दैनिक छ घन्टा बन्द गरिएको छ । स्तरवृद्धि तथा कालोपत्रे गर्न सडक डिभिजन कार्यालय दाङ्ग, जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना प्रकाशन गरेर आइतबारदेखि राप्ती राजमार्ग बन्द गरिएको हो । 

नियमित गाडी सञ्चालनका कारण राप्ती राजमार्गको चोरखोलादेखि राम्री सम्मको सडक खण्ड स्तरवृद्धि तथा कालोपत्रेको काम प्रभावित भएपछि आइतबार २५ गतेदेखि असार १ गतेसम्मका लागि आठ दिन दैनिक छ घन्टा बन्द गरिएको सडक डिभिजन कार्यालय दाङले जनाएको हो । 

चोरखोलादेखि राम्री खण्डमा सडक स्तरवृद्धिको काम भइहेपनि नियमित गाडी चल्दा ४ किलोमिटर सडक खण्डमा प्रभाबकारी तथा तोकेको समयमा काम हुन नसकेका कारण यात्रुले बाह्रै महिना विभिन्न किसिमका कष्ट उठाउँदै आएकाले आउँदा दिनमा सास्ती भोग्न नपरोस् भनेर नै सडक स्तरवृद्धि गर्न दैनिक छ घन्टा बन्द गर्नु परेको सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले  बताएका छन् । उनले बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सडक बन्द हुने जानकारी गराए । वर्षात नलाग्दै स्तरबृद्धिको काम सम्पन्न गर्न यो भन्दा अघि पनि पटक पटक सडक बन्द गरेर काम गरिएको उनको भनाई छ । 

साना तथा अत्यावश्यक सवारी साधन वैकल्पिक मार्ग पैयाखोरिया–सातावास–किमचौर–कपुरकोट सडक खण्ड प्रयोग गर्न रे संयमता अपनाउन सडक डिभिजन कार्यालय दाङका प्रमुख विष्टले आग्रह गरेका छन् । वैकल्पिक मार्ग जोखिमपूर्ण भएकाले साना गाडी सहज रुपमा आउजाउका लागि दुई दिनसम्म मर्मत गरिएको उनले जानकारी गराए । ‘वैकल्पिक मार्ग साँगुरो भएकाले ठुला सवारी साधन चल्न सक्दैनन् । ठूला सवारी साधनमा सवार गर्ने यात्रु र मालवाहक गाडी भने केही घन्टा रोकिनु पर्ने हुन्छ’ उनले भने ।  

वर्षातको समयमा पहिरो जाने र सिमेन्ट फ्याक्ट्रीको चुनढुंगा बोक्ने टिपरका कारण निर्माण कम्पनीले काम गर्दै आएपनि सोचे अनुसार प्रगति नदेखिएपनि पछिल्लो समयमा कालोपत्रे गर्नका लागि ग्रेभल गरिसकेकाले आउजाउमा केही सहज भएको उनको भनाई छ । 

जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले सडक डिभिजनले २३ गतेदेखि नै राप्ती राजमार्ग बन्द गरेर निर्माणको कामलाई तीव्रता दिने भनेपनि वैकल्पिक मार्ग गतिलो नभएकाले मर्मत नगर्दासम्म बन्दको अनुमति नदिएको र दुई मर्मत गरेर सहज रूपमा गाडी चल्ने बनाएपछि दैनिक ६ घन्टा आठ दिनका लागि बन्द गर्ने अनुमति दिएको बताइन् । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully