जुम्ला — जुम्लाको हिमा गाउँपालिकाले दुईदिने जल सम्मेलनको आयोजना गरेर खानेपानीका मुहानको पहिचान र संरक्षणका विषयमा गहन छलफल गरेको छ । तीव्र जनसंख्या वृद्धि, जथाभावी वन फडानी, डढेलोका कारण पानीका स्रोतहरु सुक्दै जान थालेपछि खानेपानीको दिगो समाधानका लागि जल सम्मेलनको आयोजना गरेको हो ।
सम्मेलनमा पालिकाभित्रका खानेपानीका मुहानको अवस्था, स्रोत संरक्षणमा भएका प्रयास, जलवायु परिवर्तनले खानेपानीका क्षेत्रमा पारेको असरका विषयमा छलफल भएको थियो । खानेपानीका क्षेत्रमा स्थानीय बासिन्दाको लगावका विषयमासमेत चर्चा भएको थियो ।
सम्मेलनमा छलफल भएका विषयहरु समेटेर १२ बुँदे प्रतिबद्धतासमेत गरिएको छ । खानेपानीको दिगो व्यवस्थापनको लागि कार्यविधि बनाउने, पालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता योजना बनाएर कार्यान्वयनमा लैजाने, सामुदायिक धारमा एक दिनको एक रुपैयाँ र निजी धारामा मिटर अनुसारको महशुल उठाएर कोषको व्यवस्थापन गर्ने, हरेक वर्ष वार्षिक रुपमा हरेक खानेपानी आयोजनाले प्रतिवेदन वडा र पालिकामा पेस गर्ने प्रतिबद्धता गरिएको छ ।
एकघर एक पोषण बगैंचा र घरबारीको व्यवस्थापन गर्ने, पानीको स्रोत सुक्दै जाने प्रक्रियालाई रोकथाम गर्न वृक्षारोपाण गर्ने, वर्षातको समयमा र वर्षात पछिको पानी परीक्षण गराउने, विद्यालयमा खानेपानी तथा सरसफाइ स्वच्छता योजना निर्माण गरेर कार्यान्वयन गर्नेदेखि खानेपानी योजनाको खातापात व्यवस्थित गर्ने र प्रत्येक वर्ष सार्वजनिक परीक्षण गर्ने प्रतिबद्धता जनाएका छन् ।
५ वर्षभित्र पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउने, महिनावारीको समयमा पनि धारा र शौचालयको प्रयोग गर्न चेतनामुलक अभियान सञ्चालन गर्ने, पालिकामा आपतकालीन कोष स्थापना गर्ने र खानेपानी योजनाको रेखदेख गर्न पानी हेरालाको नियुक्ति विधिवत रुपमा गर्ने प्रतिबद्धता जनाइएको छ ।
सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना कर्णालीका २८ पालिकामा सञ्चालन भइरहेको छ । जुम्लाको हिमाले पहिलो जल सम्मेलनको आयोजना गरेको हो । हिमा गाउँपालिकाका वास संयोजक सुमिता शाहीले खानेपानी योजनाको दिगो व्यवस्थापन र सञ्चालनको मुख्य उद्देश्य राखेर जल सम्मेलन गरिएको बताइन् ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले खानेपानी र सरसफाइमा हिमाले गरेका कामलाई संस्थागत गर्न सम्मेलनको आयोजना गरिएको बताए । ‘पाँच वर्षमा खानेपानीको नमुना विकास गर्ने प्रतिबद्धता थियो । जस अनुसार खानेपानीको मुहान र खानेपानी आयोजनाको काम भइरहेको छ,’ अध्यक्ष शाहीले भने, ‘पानीको स्रोतको संरक्षण र सदुपयोगमा जोड दिइएका छौं ।’
अहिले हिमाका ११ सय भन्दा बढी घरमा एकघर एक धारो बनिसकेको छ । सम्मेलनमा ३१ वटा खानेपानी आयोजनाका पदाधिकारी, जनप्रतिनिधि, खानेपानीसँग सरोकार राख्य निकाय सहभागी थिए । ३१ वटा उपभोक्ता समितिमा २७ समितिसँग योजना सम्झौता भएर कार्यान्वयन भइसकेको छ । उनीहरुसँग खानेपानी तथा सरसफाइ योजनाको मर्मत संभार कार्यान्वयन समझदारीपत्रमा सम्झौता भइसकेको छ ।
