सल्यान — सडक स्तरवृद्धिका लागि भन्दै सडक डिभिजन कार्यालय दाङ र जिल्ला प्रशासन कार्यालय दाङले शुक्रबारदेखि राप्ती राजमार्ग १० दिनका लागि दैनिक ६ घण्टा बन्द गर्ने सूचना निकाले । तर जिल्ला प्रशासन कार्यालय सल्यानले बन्दका लागि अनुमति दिएन ।
वैकल्पिक मार्गमा सवारी सञ्चालनमा कुनै जोखिम नभए मात्र राजमार्ग बन्द गर्न मिल्ने सल्यान प्रशासनको भनाइ छ । वैकल्पिक मार्गमा अझै यात्रुले सास्ती भोग्दै आएकाले राजमार्ग बन्द गर्न नमिल्ने सल्यानले प्रशासनले जनाएको छ ।
सल्यानले अनुमति नदिएपछि राप्ती राजमार्गमा अहिले गाडी सञ्चालन भइरहेका छन् । नियमित गाडी सञ्चालनले चोरखोलादेखि राम्रीसम्मको सडक स्तरवृद्धिको काममा अवरोध भएको भन्दै केही दिनअघि सडक डिभिजन कार्यालय दाङले जेठ २३ देखि असार १ गतेसम्म बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बन्द गर्ने सूचना प्रकाशन गरेको थियो र त्यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय दाङ र सल्यानमा पठाएको थियो ।
दाङ प्रशासनले सूचना प्रकाशन गरे पनि सल्यानले अहिलेसम्म सूचना निकालेको छैन । सडक डिभिजन कार्यालय दाङले बन्द अविधभर वैकल्पिक मार्ग पैयाखोरिया सातलवास, किमुचौर कपुरकोट सडक प्रयोग गर्न सकिने भनेको थियो । तर कच्ची सडक, साँघुरो र वर्षा लागिसकेकाले साना गाडी आउजाउ गर्न नसक्ने, दुर्घटनाको जोखिमका कारण अनुमति नदिएको सल्यानकी प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन् ।
वैकल्पिक मार्ग सुधारका लागि सडक डिभिजन कार्यालय दाङ र निर्माण कम्पनीलाई भनेपछि अहिले निर्माण कम्पनीले एक्स्काभेटर लगाएर काम गरिरहेको उनले बताइन् । ‘वैकल्पिक मार्ग गतिलो भएपछि आइतबारदेखि राप्ती राजमार्ग बन्दका लागि अनुमति दिन सक्छौं,’ उनले भनिन्, ‘म विकास विरोधी होइन तर सडकै बन्द गरेर विकास निर्माणको काम गर्नु त्यति उपयुक्त होइन ।'
स्तरवृद्धिको काम भइरहेको चोरखोला-राम्री सडकखण्ड वर्षैपिच्छे पहिरोले सडक अवरुद्ध हुने भएकाले सल्यान, रुकुम, दाङवासीले सास्ती भोग्दै आएकाले जतिसक्यो छिटो काम सम्पन्न गर्न उनले आग्रह गरेकी छन् ।
यता सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले नियमित गाडी सञ्चालनले विकास निर्माणको काम प्रभावित भएको र समयमै काम सम्पन्न हुने सम्भावना कम देखिएका कारण पटकपटक बन्द गरेर निर्माणको काम गरिरहेको बताए ।
