कर्णाली सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

जेष्ठ २१, २०८२

तृप्ति शाही

Karnali government bringing policies and programs today

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदैछ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै छ ।

दिउँसो ३ बजेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका कार्यवाहक प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हालेका छन् ।

यसअघि सरकारले प्रस्तुत गरेको प्रि–बजेटमा प्रदेश सरकारले आगामी नीति, कार्यक्रम तथा बजेट समृद्ध कर्णालीः सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक वृद्धिमा केन्द्रित गराउने जनाएको थियो । 

यस्तै प्रदेशको आर्थिक, सामाजिक अवस्था र भौगोलिक स्थितिलाई दृष्टिगत गर्दै विकास प्रक्रियामा संघ, प्रदेश, स्थानीय तह, निजी, गैरसरकारी, सामुदायिक क्षेत्र, विकास साझेदारहरूबीच सहकार्यमूलक विकास ढाँचा अवलम्बन गर्ने नीति लिइने पनि जनाएको थियो ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully