जुम्ला — चन्दननाथ नगरपालिका–६ का गणेश रावल एक सय केजी जैविक मल पाउँदा निकै उत्साहित बनेका छन् । पटक–पटक जैविक मलको खोजी गरिरहेका उनले अन्नबाली, फलफूल र तरकारी खेतीका लागि जैविक मल लिएको बताए ।
‘अर्गानिक उत्पादनका लागि जैविक मल आवश्यक थियो,’ उनले भने, ‘बल्ल पाइयो ।’ उनले घरमा करेसाबारी बनाएका छन् । फलफूल खेती पनि छ । एक सय केजी जैविक मलका लागि २ हजार ५ सय रुपैयाँ तिरेको उनले बताए ।
चन्दननाथ नगरपालिका–८ जुम्लाकी दुर्गालक्ष्मी रावलले गत महिना सुर्खेतबाट जैविक मलको बोरा ल्याइन् । यो पटक जिल्लामै जैविक मल पाएपछि दंग भइन् । उनले एक सय केजी मल लिएको बताइन् । ‘अर्गानिक जिल्लामा रासायनिक मलको प्रयोग गर्न पाइँदैन,’ उनले भनिन्, ‘जैविक मल आइपुग्दैन तर यसपटक कृषि विकास कार्यालयले अनुदानको मल उपलब्ध गराउँदा किसानलाई निकै राहत मिलेको छ ।’
कृषि विकास कार्यालय जुम्लाले लुकिछिपी रासायनिक मल र विषादी प्रयोग भइरहेको जनगुनासो बढेकाले जैविक मल किसानलाई उपलब्ध गराएको जनाएको छ । रैथाने उत्पादनलाई जोड दिन र जैविक मलको प्रयोग गर्न कार्यालयले मलको व्यवस्था गरेको हो ।
२०६४ सालमा १४ औं जिल्ला परिषद्ले जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरिसकेको छ । ‘अर्गानिक जिल्लाको पहिचान कायम राख्न अनुदानको मल ल्याइएको हो,’ कार्यालय प्रमुख रामभक्त अधिकारीले भने, ‘अनुदानको जैविक मलले किसानलाई राहत मिलेको अनुभूति भइरहेको छ ।’
जैविक मल लिन एक सातादेखि नै कृषि विकास कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा उल्लेखित समयभित्र दर्ता हुन आएका किसानलाई मल दिंदै आएको उनको भनाइ छ । सबै कागजात पुगेका किसान, कृषि फार्म, कृषक समूह तथा कृषि सहकारीलाई ५० प्रतिशत अनुदानमा मल दिइएको हो ।
जुम्लामा ३ सय ९६ बोरा जैविक मल आइपुगेको छ । प्रतिकिसानलाई ५० किलोदेखि ५ क्विन्टलसम्म मल दिने योजना रहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताए । प्रतिबोरा २५ सय रुपैयाँ मूल्य पर्छ । तर किसानले १ हजार २ सय ५० रुपैयाँ जम्मा गरेमा मल पाउँछन् ।
बाँकी रहेको ५० प्रतिशत रकम कार्यालयले व्यहोर्छ । जैविक मल वितरण कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ६ लाख ८० हजार रुपैयाँ विनियोजन भएको थियो । कार्यालयका अनुसार दुई दिनमा ३५ जना भन्दा बढी किसानले जैविक मल लिइसकेका छन्।
