कालिकोट — कालिकोटको सान्नी त्रिवेणी-८ मुम्रालाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । 'नगरौं बिहेको कुरा, भएको छैन २० वर्ष पूरा' भन्ने नाराका साथ सोमबार सरोकारवाला, अभिभावक, बालबालिका र किशोरकिशोरीको सहभागितामा मुम्रामा आयोजित विशेष समारोहमा वडालाई बालविवाह निषेधित घोषणा गरिएको हो ।
गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीको प्रमुख आतिथ्यता, पालिका उपाध्यक्ष पार्वती सिंह सञ्ज्याल, अधिवक्ता तथा शुभकालिका गाउँपालिका पूर्वअध्यक्ष खडानन्द चौलागाईको विशेष उपस्थितिमा गाउँमा कसैले पनि बालविवाह नगर्ने नगराउने प्रतिबद्धतासहित बाल विवाह निषेधित घोषणा गरिएको सान्नीत्रिवेणी-८ का वडाध्यक्ष नौला सिंह बुढाले बताए।
'बालविवाह कानुनी र सामाजिक अपराध हो,' उनले भने, 'अबदेखि मान्ने देवीदेवतालाई साक्षी राखेर प्रतिबद्धता गरेका छौं ।' उनले चार वर्षअघिसम्म ६८ प्रतिशत बाल विवाह रहेको मुम्रामा प्लानसहितका संघसंस्थाको सहयोगमा अभियान सञ्चालन गरेपछि २०८१ को चैतमा १० प्रतिशतभन्दा कम पाइएपछि वडालाई बालविवाह निषेधित घोषणा गरिएको बताए।
बालबालिकको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षणमा बाल विवाहले प्रतिकूल असर परेकाले सान्नीत्रिवेणी गाउँपालिकाले २ वर्षभित्र पालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्न अभियान सुरु गरिएको पालिका अध्यक्ष केसीले बताए। 'बालविवाहको कुचक्रले जीवन नै तहसनहस बनाएको छ,' उनले भने, 'उमेर नपुगी बिहे गरेका किशोरी कुपोषणको मारमा छन्।'
बालविवाह निषेधित वडा घोषणापछि पालिकाले किशोरकिशोरीको शिक्षाका लागि लगानी गर्ने उपाध्यक्ष सञ्ज्यालले बताइन्। बालविवाहविरुद्ध बालबालिका नै अभियन्ताका रूपमा सक्रिय हुनुपर्ने सान्नी त्रिवेणी-१ का वडाध्यक्ष वैकुण्ठ गिरीले बताए। बालविवाह गर्नेलाई सामाजिक बहिष्कार गरिने वडा ३ का अध्यक्ष रङ्गलाल देवकोटाले सुनाए।
कालीकोटमा बालविवाह गरेका ५० प्रतिशतको जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा जाने गरेको अधिबक्ता तथा शुभ कालिका गाउँपालिकाका पूर्वअध्यक्ष खडानन्द चौलागाईले बताए ।
कालिकोटका ८२ मध्ये हालसम्म तिलागुफा, शुभकालिका, रास्कोट, नरहरिनाथ र सान्नी त्रिवेणीका २३ वडा बालविवाह निषेधित घोषणा भइसकेको सशक्त बालिका परियोजना संयोजक बलिराज शाहीले जानकारी दिए।
