जुम्ला — जुम्लामा अलपत्र परेका योजना अघि बढाउन स्थानीय राजनीतिक दलहरू एकमत देखिएका छन् । अलपत्र योजनाको काम अघि बढाउने र विकास निर्माणमा देखिएका ढिलासुस्ती, अनियमिताजस्ता कार्य रोक्न उनीहरूले सक्रियता बढाएका हुन् ।
जिल्लाको विकास निर्माणमा भइरहेको ढिलासुस्ती र अलपत्र योजनाका बारेमा चासो दिन यहाँ क्रियाशील विभिन्न राजनीतिक दलले सोमबार प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको ध्यानाकर्षण गराएका हुन् ।
जिल्ला प्रशासन कार्यालय जुम्लामा भएको छलफलमा कांग्रेसका कार्यवाहक जिल्ला सभापति कार्मा बुढाले जिल्लामा थुप्रै योजना अलपत्र रहेको भन्दै ती आयोजना अघि बढाउन प्रमुख जिल्ला अधिकारी गम्भीर रूपमा प्रस्तुत हुनुपर्ने बताए ।
एमाले जिल्ला अध्यक्ष शान्तिलाल महतले विकास योजनामा भइरहेको ढिलासुस्ती र अनियमितता रोक्न प्रमुख जिल्ला अधिकारीले चासो नदिएको आरोप लगाए । उनले भने, ‘विकासे कार्यालय र ठेकेदारको मिलोमतोमै योजनाहरूमा ढिलासुस्ती भइरहेको छ । सम्बन्धित कार्यालय र निर्माण कम्पनीलाई सम्पर्कमा ल्याएर काम अघि बढाउन पहल गर्नुपर्यो ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक मक्करबहादुर भण्डारीले सदरमुकामसँगै जोडिएको चन्दननाथ–१० मा सडक निर्माणका नाममा घरजग्गामा क्षति पुर्याउने र योजना अलपत्र पार्ने काम भइरहेको बताए । विकासका नाममा सिँचाइ कुलो नै भत्काएर सडक खन्न थालेपछि अहिले धान रोपाइँमा सास्ती भइरहेको उनको भनाइ थियो ।
दलहरूले जुम्ला बसपार्क, नाग्म गमगडी सडकमा रहेका दुई पक्की पुल, जुगाडखोला करिडोर, रंगशाला, खलंगामा ढुंगा बिछ्याउने, सभाहल निर्माण, बृहत् धौलिगाड खानेपानी आयोजनाको काममा ढिलासुस्ती भइरहेको बारेमा पनि ध्यानाकर्षण गराए । १ अर्ब २६ करोड लागतमा सुरु भएको धौलिगाड खानेपानी आयोजना पनि अलपत्र परेको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अलपत्र आयोजनाका बारेमा लिखित रूपमै निवेदन दिएको भए एक्सनमा जान सहज हुने बताए । ढिलै भए पनि जिल्लाका विकास निर्माणबारे दलहरूले राखेको चासोलाई सकरात्मक रूपमा लिएको उनको भनाइ थियो । सबै आयोजनाबारे सम्बन्धित पक्षबाट जानकारी लिएर छलफलको वातावरण बनाउने प्रतिबद्धता पनि उनले जनाए ।
