वीरेन्द्रनगर — सुर्खेतमा लागूऔषध ट्रामाडोलसहित ३ जना पक्राउ परेका छन् । पकाउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ मा जयलक्ष्मी फार्मेसी सञ्चालन गरी बस्ने ५४ वर्षमा रमेशबहादुर शाही, सोही ठाउँ बस्ने २५ वर्षका हिक्मतजंग शाही र वीरेन्द्रनगर-६ बस्ने २५ वर्षका प्रह्लाद अधिकारी छन् ।
शंकास्पद अवस्थाका उनीहरूलाई र रमेशबहादुरले सञ्चालन गरेको फार्मेसी र बस्ने कोठामा खानतलासी गर्दा लागूऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरूको कोठाबाट २० पत्तामा २०० ट्याब्लेट , ४७ क्याप्सुलसहित जम्मा २ सय ४७ क्याप्सुल र खाली पत्ता ४ सय १० लागूऔषध ट्रामाडोल भेटिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार प्रहरी नियन्त्रणमा रहेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
