गाउँमै कुटानी पिसानी गर्न पाएपछि घोडेगाउँवासी दङ्ग 

जेष्ठ १६, २०८२

डीबी बुढा

The people of Ghode village rioted after being allowed to do Kutani pissani in the village

जुम्ला — गाउँमै मिल बनेपछि पिठो पिस्नको लागि घण्टौँ हिँडेर घट्ट जानुपर्ने तिला गाउँपालिका-९ घोडेगाउँका बासिन्दाको बाध्यता हटेको छ। मिलमा उनीहरू तेल पेल्ने समेत गरेका छन्। उनीहरू गाउँमै सार्य ऊर्जाको माध्यमबाट चलेको मिलमा कुटानी पिसानीको काम गरिरहेका छन्।

पहिले तीन घण्टाको पैदल हिँडाइ पछि घट्ट पुगिन्थ्यो । पिठो पिस्न पालो कुर्नु परिरहेको हुन्थ्यो । पालो नपाउँदा घट्टमै बास बस्नु परेको अवस्था थियो, तर अहिले गाउँमै मिल बनेपछि सहज बनेको छ ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमको १५ लाख रकमले गाउँमै कुटानी पिसानी मिल बनेको छ। वडाध्यक्ष जङ्ग रोकायाले गाउँमै मिल बनेपछि घोडेवासीको कार्य बोझ घटेको छ । मकै, जौ, गहुँ लगायतको पिठो पिस्न निकै समस्या थियो । 'पानीको मुहान सुक्दा घट्टहरू समेत बन्द हुने अवस्थामा थिए । तर अहिले मिल बनेपछि गाउँलेहरू राहतको अनुभूति गर्न थालेका छन्,' उनले भने।

गाउँका घट्ट नचल्दा घण्टौँ हिँडेर सुडी, रिपी, तुही, रारालिहीका घट्टसम्म पुग्ने पर्ने बाध्यता घोडेगाउँबासीको थियो। कहिलेकाहीँ त छिमेकी जिल्ला कालिकोटको रतडा गाउँमा समेत पिठो पिस्न जानु परेको थियो । हिउँदमा खोला सुक्थ्यो । चैत वैशाख र जेठमा सुख्खा खडेरी हुन्थ्यो ।खडेरीले घट्ट चल्न नसक्दा निकै ठुलो समस्या हुने गरेको थियो ।

घोडेगाउँका ७६ घर धुरीका लागि यो मिल बनेको हो। वडाध्यक्ष रोकायाले भने, ‘पिसानीको काम घोडेगाउँकाले मात्र गर्न सक्ने भए पनि तेल पेल्ने र धान कुट्ने सेवा छिमेकी गाउँहरूले समेत लिन सक्नेछन्।  बिजुली निकाल्ने खोलाहरू नहुँदा निकै समस्या थियो । तर सार्य ऊर्जाको व्यवस्थापन भए पनि बिजुली बाल्ने रहर पनि पुरा भएको छ। कुटानी पिसानीको पनि काम सुरु भएको छ। 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully