जुम्ला — कुलोमा पानी नआएपछि जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरको शेराडाब जिउलोमा जेनेरेटरबाट पानी तानेर रोपाइँ गरिएको छ ।
नदीमा पानीको सतह घट्दै जाँदा शेराडाबसम्म आउने कुलोमा पानी आउन छाडेको धेरै वर्ष भइसकेको छ । सोही कारण जेनेरेटरबाट पानी तानेर रोपाइँ गरिएको छ ।
मन्दिरको गुठीको उक्त डाबमा सदियौंदेखि रोपाइँ हुँदै आएको छ । अनिवार्य रुपमा शेराडाबमा रोपाइँ गर्नुपर्ने प्रचलन भएका कारण पानीका लागि जेनेरेटरको सहयोग लिइएको हो ।
कुलो बनाउनेतिर कसैको ध्यान जान नसकेको स्थानीयको आरोप छ ।
पहिले शेराडाबको ५३ मुरी खेतमा मार्सीधानको खेती भइरहेको थियो । पछिल्लो समयमा सिँचाइ गर्ने कुलो नभएकोले १८ मुरी खेतमा मात्र मार्सीधानको खेती हुन्छ ।
त्यही पनि जेनेटेरबाट पानी ल्याएर सिँचाइ गर्नुपर्ने बाध्यता छ । स्थानीय रमानन्द आचार्यले गुठिको जग्गा अतिक्रमण हुँदै जानु, सिँचाइ कुलो बन्द हुनु र धानखेतीमा किसानको आकर्षण घट्नुले पनि शेराडाबको रोपाइँको क्षेत्रफल घटेको हो ।
पटकपटक सिँचाइ कुलो बनाएर पहिलेकै अवस्थामा मार्सीधानको रोपाइ गर्ने निर्णय भइरहेकोमा हालसम्म पनि हुन नसकेको चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष अमरबहादुर थापाले दुखेसो पोखे । उनले भने, ‘परम्परादेखि चल्दै आएको रोपाइँ यो वर्ष पनि चल्यो । तर बर्षेनी धानको क्षेत्रफल घट्दै गइरहेको छ । यो राम्रो होइन ।’
गुठी समिति, चन्दननाथ बहुद्धेशीय सहकारी संस्था र चन्दननाथ माध्यमिक विद्यालयको सहयोगमा यो पटक मार्सीधान रोपिएको हो । रोपाइँमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरप्रमुख राजुसिंह कठायत, उपप्रमुख रामुदेवी खड्का र गुठी समितिका अध्यक्ष अमरबहादुर थापा पनि सहभागी थिए ।
रोपाइँमा गीत गाउने, मागल भन्ने, बिउको मुठा समातेर नाचेर रमाइलो समेत गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख आचार्यले परम्परागत रुपमा चल्दै आएको रोपाइँ निरन्तर चलिरहेको बताए । ‘पुर्खाहरुसँग यो इतिहास जोडिएको छ । उतिबेलाको मुख्य खान्की मार्सी चामल नै थियो । अहिले लोप हुने अवस्थामा छ,’ आचार्यले भने, ‘अहिले बजार पनि बढेको र माग पनि धेरै हुने भएकोले मार्सीको क्षेत्रफल बढाउनुपर्ने देखिन्छ ।’
पहिले चन्दननाथ मन्दिरको ५४ हजार वर्गमिटर क्षेत्रफलमा रोपाइँ चल्थ्यो । अहिले गुठीको जग्गा लिजमा दिएर स्याउ खेती भइरहेको छ । केही जग्गा अतिक्रमण भइसकेको छ ।
