सल्यान — जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–१२ का वडा अध्यक्ष तथा चौरका स्थानीय ५० वर्षीय लालबहादुर घर्तिले यो वर्ष ८ रोपनी जग्गामा १ सय ३ क्विन्टल बर्खे आलु उत्पादन गरे ।
उनले ४५ रुपैयाँका दरले ९० क्विन्टल आलु बिक्री गरेर ४ लाख ५० हजार आम्दानी गरे । उनले यो वर्ष पनि आफ्नो जग्गामा अरु बाली छाडेर आलु नै लगाउने तयारी गरेका छन् ।
यस्तै ४८ वर्षीय पूर्णबहादुर पुनले १० रोपनी जग्गामा बर्खे आलु लगाएर गत वर्ष १ सय १० क्विन्टल उत्पादन गरे । १० क्विन्टल बिउ राखी ५ लाख बढीको एकसय क्विन्टल आलु बिक्री गरे । बर्खे आलु बिक्री गरेको रकमबाट उनले सहज रुपमा ६ जनाको परिवार पाल्दै आएका छन् भने उनलाई घरमै रोजगारी मिलेको छ ।
बर्खे आलु लगाउने अहिले समय भएकाले उनले यो वर्ष थप केही रोपनी जग्गामा विस्तार गर्ने योजना बनाएका छन् । बर्खे आलु उत्पादनको लागि जिल्लाको बाग्चौर नगरपालिका ११/१२ बाफुखोला, ४ शिवरथपछि पकेट क्षेत्रको रुपमा बन्गाड कुपिण्डे नगरपालिका १२ निगालचुलाको चौर गाउँ चिनिन्छ ।
७५ घर परिवारको बस्ती रहेको चौर गाउँका स्थानीयले २ सय ५० देखि ३ सय रोपनीमा बर्खे आलु खेती गर्दै आएका छन् । निगालचुलाको चौर गाउँबाट यो वर्ष २ करोड २५ लाखको आलु निकासी भएको छ । बस्तीबाट निकासी भएको आलु सबै सुर्खेत गएको हो ।
गालचुलाको चौर गाउँका किसानले विगतदेखि बर्खेत नुन, तेल किन्ने खर्च जुटाउने र दैनिक तरकारीको लागि आलु खेती गर्दै आए पनि एक दशक यता मात्र व्यवसायिक रुपमा लागेका वडाध्यक्ष लालबहादुर घर्तिले बताए । व्यवसायिक आलु खेती गरेर आफनो ६ जनाको परिवार सजिलै पाल्दै आएको र यसबाटै रोजगारी मिलेको उनले जानकारी गराए ।
‘व्यवसायिक रुपमा लागेपछि अहिले प्रत्येक घरले ६० देखि १०० क्विन्टल आलु बिक्री गर्दै आएका छन्,’ उनले भने, ‘निगालचुलाका जिल्लाको विकट बस्ती भए पनि व्यवसायिक रुपमा उत्पादन गरेको आलुबाटै सबै किसानलाई जिविकोपार्जनमा सहज भएको छ ।’ किसानले उत्पादन गरेको आलु पछिल्लो समयमा सबै सुर्खेत गइरहेको उनको भनाइ छ ।
करिब २७ सय मिटर उचाईमा रहेको बस्तीमा वर्षातको समयमा खाद्यबाली उत्पादन कम हुने र भए पनि हुरीबतासका कारण ढलेर सखाप हुने, उत्पादन भएको खाद्यबालीले वर्षभरी खर्च टार्न नसकिने भएकै कारण झण्डै दुई दशकदेखि बर्खे आलु लगाउँदै आएको स्थानीय मिनबहादुर बुढाले बताए ।
१० रोपनी जग्गामा आलु लगाएर यो वर्ष ५ लाख कमाएको उनले जानकारी गराए । ‘विगतमा घर खर्च चलाउन सधैं भारतमा जानुपर्थ्यो । व्यवसायिक रुपमा आलु खेतीमा लागेपछि केही वर्ष यता कहिँ जान परेको छैन, घर खर्च चलाउन र अन्य खर्चका लागि सहज भएको छ । औषधि उपचारको लागि साहुबाट ऋण काढ्नु परेको छैन,’ उनले भने । वडाको एउटै बस्तीमा धेरै आलु उत्पादन हुने भए पनि सम्बन्धित निकायको ध्यान अझै पुग्न नसकेको उनको गुनासो छ ।
व्यवसायिक आलु खेतीमा लागे पनि बस्तीका सबै किसानले परम्परागत शैलीमै आलु खेती गरिरहेका र कृषि विकास कार्यालय सल्यानबाट प्राविधिक सहयोग अहिलेसम्म पाउन नसकेका स्थानीय रनबहादुर पुनले बताए । आलु खेतीबाटै पछिल्लो समयमा बस्तीका सबैलाई रोजगारी खोज्दै भारततिर भौतारिनुपर्ने बाध्यताको अन्त्य भएको उनले जानकारी गराए ।
उनका अनुसार आलु बिक्री गरेको पैसाले स्थानीयले घर खर्च मात्र नभई केहीले जग्गाजमिनमासमेत लगानी गरेका छन् । एउटै बस्तीमा धेरै आलु उत्पादन हुँदै आएकाले किसानलाई प्राविधिक तथा अन्य उपकरणको सहयोगका लागि सम्बन्धित निकायसमक्ष उनले आग्रह गरेका छन् ।
कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तिले निगालचुलामा बर्खे आलु खेती हुन्छ भन्ने सुन्नमा आए पनि अहिलेसम्म त्यहाँको बारेमा जानकारी नभएको बताए । जानकारी नभएकै कारण स्थानीय किसानलाई कार्यालयले सहयोग गर्न नसकेको उनले जानकारी गराए । ‘आउँदा दिनमा किसानलाई उत्साहित गर्ने खालका कार्यक्रम राख्न पहल गर्ने छौं,’ उनले भने । जिल्लाभरीबाट प्रत्येक वर्ष २६ करोडको बर्खे आलु निकासी हुने उनको भनाइ छ ।
