असिनापानीले फल लाग्ने बेलाको बाली नष्ट

जेष्ठ ११, २०८२

डीबी बुढा

Hailstorm destroys crops at the time of fruiting

जुम्ला — असिनाले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न प्रहरी टोली प्रभावित क्षेत्रमा पुगेको छ। तिला गाउँपालिका-९ मा शुक्रबार बेलुकी ४ देखि ५ बजेसम्म निरन्तर असिना परेको थियो। असिनाले जौं, गहुँ, मकै, सिमी लगायतका अन्नबालीमा क्षति पुर्‍याएपछि रारा प्रहरी चौकीदेखि प्रहरी टोली खटिएको थियो।

टोलीले क्षति अवलोकन गरेर फर्किएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिनबाबु रेग्मीले असिना पीडितको अवस्था बुझेर प्रहरी फर्किएको बताए । उनले भने, ‘बालीनाली सखाप नै भएको देखिएको छ। प्रहरीले मुचुल्का बनाएर फर्कियो ।’

उनका अनुसार ३ सय ३२ घर परिवार प्रभावित भएको मुचुल्कामा उल्लेख छ । असिनाले अन्नबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित छन् । झन्डै आधा घण्टा परेको असिना शनिबारसम्मै सेताम्य देखिन्थ्यो । प्रहरीले असिनाले क्षति गरेको फोटो र स्थानीयको प्रतिक्रिया समेत लिएको उनले बताए। स्थानीय किसान उमेश रावतले भित्र्याउने बेलामा रहेको बाली असिनाले सखाप पारिदिएपछि भोकमरीको संकेत देखिएको बताए।

उनले भने, ‘जौं, गहुँमा बाला छन्। दाना छैनन् । भर्खर उम्रिएका मकै, सिमीका बिरुवाहरू चुँडालिएको अवस्थामा छन्। स्याउका दाना र पात झरिसकेका छन्। बोट मात्र ठिङ्ग उभिएका छन् । यो दयनीय अवस्था देखेर रुन मन लाग्छ ।’

Hailstorm destroys crops at the time of fruiting

तिला-९ का राँसा, मालापानी, माथिल्लो खोप्री, तल्लो खोप्री र ढिपु गाउँमा असिनाले धेरै क्षति पुर्‍याएको हो। उमेशले असिनाले पुगेको क्षति अवलोकन गरेर किसानलाई राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिए। 'असिनाले सबै सखाप पार्‍यो। न बिउ रह्यो, नत जिउ नै रहने वाला छ,' उनले भने, 'सरकारले नहेरे घर बन्द गरेर काला पहाड जानुको विकल्प छैन।'

असिना पीडित किसानहरूले राहतको व्यवस्थापन गरेर असिनाले पुर्‍याएको क्षतिमा मलहम पट्टी लगाइदिन माग गरिरहेका छन्। तिला-९ का वडाध्यक्ष धनबहादुर रावतले असिनाले नराम्ररी क्षति पुगेको बताए । उनले भने, ‘गाउँपालिकामा गहन रूपमा छलफल भइरहेको छ ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully