रुकुम पश्चिम — विद्युत् मर्मत गर्ने क्रममा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–४ स्थित बोहोरागाउँमा विद्युत्को पोलमा चढेर लाइन मर्मत गर्ने क्रममा बिहीबार राति साढे १० बजेतिर रुकुम पूर्व सिस्ने गाउँपालिका–३ का २९ वर्षीय खिमबहादुर खड्काको ज्यान गएको हो । उनी नेपाल विद्युत् प्राधिकरण रुकुम पूर्वका विद्युत् वितरण केन्द्रका कर्मचारी हुन् ।
रुकुम पूर्वमा विद्युत् प्रसारण रोकिएपछि त्यहाँबाट मर्मत गर्न भनेर बोहोरागाउँमा रहेको पोलमा चढेर लाइन मर्मत क्रममा करेन्ट लागेर खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश विष्टले बताए ।
‘उनीहरू उता (रुकुम पूर्व)बाट विद्युत् सञ्चालनका लागि भनेर आएको र पोलमा चढेका बेला सोलाबाङको लघुजलविद्युत्बाट आएको करेन्ट लागेको हुन सक्ने अनुमान हाम्रो छ,’ उनले भने, ‘घटना घटेको थाहा पाउने बित्तिकै प्रहरी, विद्युत् प्राधिकरणका कर्मचारीका साथै स्थानीय समेतको सक्रियतामा उनलाई पोलबाट मृत अवस्थामा निकालिएको हो ।’
खड्काको शव घटनास्थलमै रहेको र आफन्तको रहोबरमा मुचुल्का उठाएपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लगिने प्रहरीको भनाइ छ ।
