वर्षा लागेसँगै जोखिम बन्दै नाग्म गमगढी सडक, दुई पुलको निर्माण अलपत्र

जेष्ठ ९, २०८२

डीबी बुढा

Nagm Gamgarhi road becoming dangerous with rain, construction of two bridges stalled

जुम्ला — हिमा गाउँपालिकास्थित बालुवा खोलामा पक्की पुलको एकातिरको पिल्लर ठड्याएको चार वर्ष भइसक्यो । जोसुकैले अहिले पुल बनेको देख्नेभन्दा पनि पिल्लर हेरेर चित्त बुझाउनु परिरहेको छ । पिल्लर ठडिएको देख्दा पुल बन्छ कि भन्ने आशा पलाउने गरेको भएपनि वर्षौँदेखि त्यही एक पिल्लर मात्र देख्दा उदेक लाग्ने गरेको स्थानीय कलबहादुर रोकायाले बताए । 

अहिले पिल्लरका सरिया खिया लागेर खत्तम भइसकेका छन् । उनले भने, ‘अहिलेसम्म पिल्लर हेरेर मात्र बसेका छौँ । कहिले पुल बन्ने हो र यात्रुको सहजरूपमा यात्रा हुने हो अन्योल छ ।’ वर्षामा बालुवा खोला बढेर जोखिम हुने गरेको अनुभव उनको छ । 

कालिकोटतिरका जग्गाधनीले पुलका लागि चाहिने जमिन उपलब्ध गराउन नमानेकोले चार वर्षदेखि पुल निर्माणको काम रोकिएको छ । जग्गाधनीले मुआब्जाको माग राखेकोले समस्या उत्पन्न भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार जग्गा धनीसँग पटक पटक छलफल भइसकेको छ । तर टुङ्गोमा पुग्न सकेको छैन । 'मुआब्जा नदिईकन जग्गा नदिने अडान जग्गा धनीको छ । मन्त्रिपरिषद्को निर्णय बिना मुआब्जा दिन मिल्दैन । सडक विभागमा पत्र लेखेर पठाइएको छ,' प्रमुख चौधरीले भने, ‘जबसम्म मुआब्जाको टुंगो लाग्दैन । तबसम्म पुल बन्ने निश्चित छैन ।' 

हरेक वर्षामा खोला बढेर जोखिम नै हुन्छ । कैयन सवारीसाधन बगेका छन् । त्यही खोलमा बढेका कारण यात्रु अलपत्र हुनेदेखि जोखिमपूर्ण यात्रा गर्नुपर्ने यात्रुको बाध्यता छ । कनकासुन्दरी–६ स्थित गोठीजिउला खोलामा बन्न लागेको २० मिटर पक्की पुल पनि अलपत्र छ । पुल बनाउँदा मुगुको खत्याड गाउँपालिका जाने बाटो बन्द हुने र केही घरहरू भत्काउनुपर्ने भएकोले स्थानीयले मानेका छैनन् । 'स्थानीयले जग्गा दिन मानेका छैनन् । मुआब्जा दिने निर्णय मन्त्रिपरिषद्‌बाट हुन सकिरहेको छैन,' प्रमुख चौधरीले भने, ‘२० मिटर लामो पुलको डिजाइन छ । अब ५ मिटर मात्रै लामो हुने गरेर डिजाइन फेरेर पुल बनाउने तयारी भइरहेको छ ।’

चार वर्षदेखि कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल जाने नाग्म गमगढी सडकमा १० वटा पक्की पुल निर्माणको काम सुरु भएकोमा यी दुई वटा पुल अलपत्र अवस्थामा छन् । सडक विभागले १० वटा पुल निर्माणको लागि ३२ करोड रकम विनियोजन गरेको थियो । आठ वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

बालुवा खोलामा अहिले काठको पुल लगाइएको छ । जसबाट ठूला सवारीसाधनभन्दा पनि साना सवारी आउजाउ गर्न सहज बनेको छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जग्गा विवाद सल्टाउने लामो प्रयास भएपनि सम्भव नभएको बताए । सडक डिभिजन र निर्माण व्यवसायी जवाफदेही हुन नसकेको आरोप उनको छ । हिउँदको समयमा आन्तरिक तथा बाह्य पर्यटकले यात्रा सहजै रूपमा गरिरहेको भए पनि वर्षायाममा जोखिम मोलेर आउजाउ गरिरहेका छन् । 

हिमाको कालिकाखेतु, बाजागाडा, विष्टबाडा, रोकायाबाडा, पिनाखोला र गमगाड खोलाको पक्की पुल निर्माणको काम चलिरहेको छ । विष्टबाडाको पुल बनेर सञ्चालनमा आइसकेको छ । २०७८ फागुन ९ गते ठेक्का सम्झौता भइ २०८२ साउन मसान्तसम्म पुल बनिसक्नुपर्ने थियो । अलपत्र पुलको म्याद थप्नुपर्ने बाध्यता रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । 

२०७८ फागुन ९ गते ठेक्का सम्झौता भई २०८२ साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि दुई वटा पुल अलपत्र भएकोले म्याद थप्नुपर्ने अवस्था आएको सडक डिभिजन जुम्लाले जनाएको छ । हिम सगरमाथा कन्स्ट्रक्सनले ३२ करोडमा १० वटै पुल बनाउने जिम्मेवारी पाएको थियो । आठमध्ये ७ पुलको अवस्था ९० प्रतिशतभन्दा बढी प्रगति भइसकेको छ । एक पुलको काम निरन्तर भइरहेको छ । दुई पुल अलपत्र अवस्थामा छन् । 

मौसम प्रतिकूलता, जनशक्ति अभाव, निर्माण सामग्री अभाव, बजेट अभाव तथा कठिन भूगोलकाबीच पनि निर्माण कार्यलाई गति दिइरहेको निर्माण कम्पनीको दाबी छ । ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगढी सडकका विभिन्न खण्डमा पक्की पुल बनेपछि यात्रा सहज हुने स्थानीयको आशा छ । निर्माण व्यवसायी, नाग्म गमगढी मार्गमा पर्ने पालिका, सडक डिभिजन र स्थानीय प्रशासनले निर्णायक छलफल गरी जग्गा विवाद टुङ्ग्याएर पुल निर्माण अघि बढाउनुपर्ने माग स्थानीयको छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully