यार्सा टिप्न गएकी महिलाको चट्याङ लागेर मृत्यु 

जेष्ठ ८, २०८२

डीबी बुढा

A woman who had gone to pick Yarsa died due to lightning

जुम्ला — तातोपानी गाउँपालिका-८ स्थित सुब्बाकुना पाटनमा यार्सा टिप्न गएकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । 

तातोपानी-८ टोप्लागाउँकी २७ वर्षीय कल्पना शाहीको चट्याङ लागेर मृत्यु भएको हो । बिहीबार दिउँसो ४ बजेतिर चट्याङ परेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । पाटनमा यार्सा खोजिरहेकै अवस्थामा चट्याङ लागेको थियो । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिनबाबु रेग्मीले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ । उनका अनुसार प्रहरी नायब निरीक्षक राज रोकायाको नेतृत्वमा ६ जनाको प्रहरी टोली खटाइएको छ । 

सुब्बाकुना पाटन जुम्ला र जाजरकोटको सीमा नजिकै पर्छ । चट्याङ परेको खबर स्थानीयले प्रहरीलाई गरेका थिए । पाटन पुग्न झण्डै ६ घण्टाको समय लाग्ने स्थानीयले बताएका छन् । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully